
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वसनबाट फर्केपछि ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’सहित शुरु भएको यो परम्परा कांग्रेसले निरन्तरता दिँदै आएको थियो।
तर भदौ २३ र २४ गतेका अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवनदेखि सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायतका संरचनामा आक्रमण भएको, कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेताहरूलाई लक्षित हिंसात्मक गतिविधि भएको तथा पार्टी केन्द्रीय कार्यालयमा समेत आगजनी गरिएको कारण चाडपर्वकै बेला मुलुक शोकमा डुबेको भन्दै यस वर्ष चियापान कार्यक्रम नहुने कांग्रेसले जनाएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ। तर आम नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू गहिरो शोकमा रहेका कारण यस वर्षको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको छ।”







