केपी ओलीसँग जुध्छे- माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । आज (बुधवार) पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ६ सिट मागेर आफूहरुलाई सिटनै नदिने बारे छलफल चलाएको बताए ।
उनले ओलीलाई गलत प्रवृत्ति भएका पात्रको संज्ञा दिए । कम्युनिष्टहरु एक हुने भनेर मात्रै नहुने र यस्ता गलत प्रवृत्ति बोकेका पात्रहरु सुध्रिन आवश्यक रहेको उनको भनाइ थियो । गलत प्रवृति, गलत दृष्टिकोण र गलत विचार बोकेकाहरुसँग जुध्नेसमेत उनले उद्घोष गरे ।
‘केपी ओलीको मति अझै पनि सप्रिएको छैन । सबै कम्युनिष्ट मिलुन् भन्ने चाहना राखेरमात्रै हुँदैन । मति पनि सप्रिएको हुनुपर्यो । हामी यस्ता गलत प्रवृत्ति बोकेकाहरुसँग जुध्छौं ।’
अध्यक्ष नेपालले भने, ‘विचार गलत छ भने, दृष्टिकोण बेठिक छ भने जुधिन्छ । जुधेर आफ्नो पार्टीलाई अघि बढाउन भूमिका खेलिन्छ । जेसुकै गर्नुपरे पनि हामी देशलाई केन्द्रविन्दुमा राख्छौं । जनतालाई, संविधान र समाजवादको विषयलाई केन्द्रविन्दुमा राख्छौं ।
प्रतिकृया दिनुहोस्