
काठमाडौं, नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । आइतबार सभामुख सापकोटालाई उनको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको हो ।
उक्त भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो । सोही अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४८ बर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए ।

उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गतेका थिए । सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताए ।







