September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

राष्ट्रिय सभा निर्वाचन: गठबन्धनबाट १८ र एमालेका १ सदस्य निर्वाचित

काठमाडौं, राष्ट्रिय सभामा रिक्त रहेको १९ सदस्य पदका लागि बुधबार सात वटै प्रदेशमा निर्वाचन सकिएको छ । उक्त निर्वाचनको मतपरिणाम अनुसार १९ सिटमध्ये पाँच दलीय सत्ता गठबन्धनबाट १८ र नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका हुन् ।

१९ सिटमध्ये नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, जसपा, जनमोर्चा र एमालेबाट १-१ जना निर्वाचित भएका छन् ।

प्रदेश १ मा गठबन्धनको तर्फबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भए भने अल्पसंख्यकतर्फ भने एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

शेर्पाले गठबन्धनतर्फ जनता समाजवादीका हेमराज राई शेर्पालाई पराजित गरेका हुन् । यसैगरी प्रदेश २ पनि गठबन्धका दुई उम्मेदवार विजयी भएका छन् । जसअन्तर्गत माओवादी केन्द्रका उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्धिकी विजयी भएका छन् । त्यस्तै बागमती प्रदेशमा गठबन्धनका उम्मेदवारहरु नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना विजयी भइन।

गण्डकी प्रदेशमा पनि गठबन्धनका ३ जनै उम्मेदवार विजयी भए । महिला क्लस्टरबाट नेपाली कांग्रेसकी नेतृ कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र अन्यबाट माओवादी सुरेश आलेमगर विजयी भए ।

त्यस्तै लुम्बिनीमा गठबन्धनतर्फ नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भए ।

त्यस्तै कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् । सुदूरपश्चिम प्रदेशमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नारायण दत्त मिश्र, नेकपा एकीकृत समाजवादीकी मदन कुमारी शाह (गरिमा) र नेकपा माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको