January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

संसद सुचारु गराउन पहल गर्ने राजनीतिक समन्वय समितिको निर्णय

काठमाडौं, सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समय अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अनुसार संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताएका छन् । संसद सुचारु गर्न सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनको भनाइ छ ।

उनले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मुल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ । र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ । र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ ।’

यसैगरी उनले समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको