June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

बिरगंजमा खैरो हिरोइनसहित दुई जना पक्राउ

बिरगंज, पर्सा प्रहरीले अवैध लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले आइतबार वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मनवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार राजु डिजल ग्यारेजमा लुकाइछिपाई राखिएको अवस्थामा ना.५६ प ५४१७ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा रहेको ३ दशमलव ५ ग्राम अवैध लागु औषध खैरो हिरोइन बरामद गरिएको हो ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकल धनी वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा निवासी २६ वर्षीय रामबाबु ठाकुरसहित मोटर साइकललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको खनालले जानकारी दिएका छन् ।

सो घटनाको प्रारम्भिक अनुसन्धान अनुसार अवैध लागु औषध खैरो हिरोइनको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले आइतबार वीरगञ्ज महानगरपालिका-१२ मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको