प्रदेश २ को प्रदेशसभा बैठक २० गते बस्दै, मुख्यमन्त्री राउतले विश्वासको मत लिने

जनकपुरधाम, प्रदेश २ सरकारले विश्वासको मत लिन प्रदेशसभाको बैठक बोलाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन २० गते प्रदेश सभाको बैठक आह्वाना गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले सरकारलाई विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वानको निर्णय भएको प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रदेश सभा २० गते बिहान ११ बजे बस्ने निर्णय भएको मन्त्री साहले बताए ।

यसैगरी दल विभाजनपछि बनेको गठबन्धन सरकारले सभामा विश्वासको मत पुष्टि गर्न सभाको आह्वान गरिएको हो । प्रदेश २ मा जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सरकारमा सहभागी छन् ।

यस्तै माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेतले सरकारलाई समर्थन गरिसकेको छ ।