September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, नयाँ सरकार गठन भएको २ महिनापछि गण्डकी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

उक्त विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा बनेको ११ सदस्यीय मन्त्री मण्डलका ९ जना मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका हुन् । यसैबीच प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् । 

मुख्यमन्त्री पोखरेलले आफ्नो सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । उनले पेश गरेको विवरणमा कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएको उल्लेख भने आम्दानीका रुपमा तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको उल्लेख गरेका छन् ।

त्यस्तै पोखरेलसँग पाँच तोला सुन, काठमाडौं र तनहुँमा जग्गा रहेको विवरण देखाएका छन् । श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँ मूल्यको एउटा घर रहेको उल्लेख छ । 

यसैगरी कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले ९० तोला सुन भएको विवरण पेश गरेका छन । त्यस्तै पोखरामा ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।  उनले घरमा नगद ५५ हजार रुपैयाँ,५० तोला चाँदी, १५ तोला हीरा रहेको विवरणमा उल्लेख गरेका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र परिवार समेतको सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, मल, रिसोर्ट लगायतमा लगानी रहेको उल्लेख गरेका छन् ।

यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर स्वआर्जन र पैतृक सम्पत्तिको रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री खड्काले ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर र ८५ लाख ऋण दिएको सम्पत्ति विवरण पेश गरेका छन् ।

यस्तै अर्थमन्त्री रामजी बरालले एनआइसी एसिया बैंकबाट एक करोड ऋण लिएको सम्पत्ति विवरणमा देखाएका छन् । उनले ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता सेयर, बैंकमा तीन लाख नगद मौज्दात रहेको देखाएका छन् । यस्तै दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको विवरण पेश गरेका छन । त्यस्तै मन्त्री बराल र उनको श्रीमतीको नाममा पोखरामा जग्गा, चार तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक किलो १९ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनले बुझाएको विवरणमा उल्लेखित सम्पत्तिको मुख्य स्रोत पैतृक सम्पत्ति भएको उल्लेखछ । मन्त्री श्रेष्ठले १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एक थान हीराको औँठी

रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । यस्तै उनको स्याङ्जाको भीरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको विवरणमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको