March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कांग्रेस पदाधिकारी बैठक: घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं, प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । शनिबार  बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको हो ।


प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणमा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए ।

उक्त घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

प्रवक्ता शर्माले भने, ‘आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरुउपर २४ घण्टाभित्र स्पष्टिकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको