March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

“अवसरवादी, स्वार्थी र लालची तत्त्वलेले पार्टी बदनाम गर्न आयोगमा निवेदन दर्ता गराए”

काठमाडौं, माओवादी केन्द्रले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

यसअघि नेकपा एमाले प्रवेश गरेका माओवादीका नेताहरूले अधिवक्ता सरोज बुढाथोकीमार्फत् बुधबार आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए ।


केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज विज्ञप्ति जारी गर्दै त्यसप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका हुन् ​।

विज्ञप्तिमा भनिएको छ, ‘‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्त्वलेले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’

माओवादी केन्द्रले पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको