भारतले दार्चुलाको थप ३५ हेक्टर जमिन लग्यो: सांसद बडु

काठमाडौं, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको ३५ हेक्टर जमिन भारतले लगेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिँदै उनले दार्चुला सदरमुकाम महाकाली नगरपालिका वडा नं. ५ गैल्फै गाउँ पारी भारत सरकारले नेपाल सरकारको जानकारी बिना नेपालको जमिन समेटेर तटबन्ध बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले त्यहाँको सिडियोले भारतीय पक्षलाई पत्राचार गरे पनि सुनुवाई नभएको, स्थानीयले विरोध गर्दा पनि नरोकिएको बताउँदै गृह मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुतेर बसेको बताए ।
उनका अनुसार महाकाली नदीमा २०७० साल असारमा भीषण बाढी आएको र बाढीले नदीको धार परिवर्तन गर्दा १ हजार ४७ रोपनी जमिन भारततिर गएको छ । खोलाको धार परिवर्तन भएर ३५ हेक्टर जमिनमा रहेको मन्दिर सामुदायिक वन समेत भारतले आफ्नो क्षेत्रभित्र पार्दै तटबन्ध लगाइरहेको छ ।
धौलीगंगा हाइड्रोपावरको बाँध फुटेर बजार क्षेत्र र वन क्षेत्र पनि सखाप पारेको छ । सन् २०१३ मा संयुक्त रुपमा तटबन्ध गर्ने सहमति भए पनि अहिले भारतले एकतर्फी तटबन्ध गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्