April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्रीसँग कुराकानी गर्न समय मागेको छु, खबर आउला: सभामुख सापकोटा

  • 27
    Shares

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि समय मागेको र खबर आउने अपेक्षा राखेको सापकोटाले बताएका छन् ।

संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग छलफल गर्ने उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताएका हुन् ।

‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला,’ पत्रकारहरूसँगको भेटका क्रममा सभामुख सापकोटाले भने ।

संसद्‌मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको सभामुख सापकोटाले बताए । उनले दलहरूबीच छलफल भइरहेको र निष्कर्ष निस्किने अपेक्षा राखेका छन् ।

उनले भने, ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन । निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु । निष्ठाका साथ अगाडि बढ्छु ।’

शीर्ष समाचार

धेरै पढिएको