April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दैछौं: सभामुख सापकोटा

  • 30
    Shares
file photo

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको बताएका छन् । सभामुख सापकोटाले संसद् सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।


आज जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ ।’

‘हामीले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं । संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दैछौं र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’, सभामुख सापकोटाले भने ।

उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकुलता खोज्ने उपाय खोजिरहेको बताएका  छन् । ‘बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद् भनेको छलफल, बहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब संवाद हुँदै अगाडि बढ्छ ।’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको