January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका निमित्त सर्वपक्षीय सम्मेलन गरौं: कमल थापा

  • 1
    Share

हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव नेकपासम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।

हेटौँडामा पार्टीको चुनाव चिह्न हलो तथा झन्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरेका हुन् । 

उनले नेपाली जनताको अभिमतबाट राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने उनको भनाइ छ । 

नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर विषय बुझ्दै गएको बताए । 

राजसंस्था र हिन्दूराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरे । राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे ।

मुलुकमा विकृति विसंगति, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको थापाको भनाइ  छ । राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै उनले संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले मुलुकमा व्याप्त विकृति र विसंगतिका कारण विद्रोहको अवस्था सिर्जना भएको बताए । राप्रपाका युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आँधीबेहरी ल्याउनुपर्नेमा जोड दिए ।
 

शीर्ष समाचार

धेरै पढिएको