March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पौडेल पक्षको माग देउवाले नमानेपछि आज पनि कांग्रेसको बैठक बस्ने

काठमाण्डौ, पार्टीभित्रको आन्तरिक विवाद र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षि नेपाली कांग्रेसले छलफल सुरु गरेको छ ।

सोमबार सानेपामा बसेको पदाधिकारीसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति र कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको हो ।

बैठकपछि कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत्तले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने दावी गरेका छन् । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महतले बताएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ ।

पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । १९ असोजको केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो ।

कांग्रेसका केहि नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसको सबै बैठक विथोलिएको थियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका देउवाले त्यही छलफलको निरन्तरताका रुपमा सोमबार नेताहरुसँग छलफल गरेका हुन् ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु भएको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी थिए । बैठक आज पनि बस्नेछ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको