तपाईं साहित्य क्षेत्रमा पस्नु भएको कति भयो ?
धेरै भएको छैन । २०७५ सालमा प्रेरणादायी पुस्तक दृष्टिकोण निकालेँ। २०७६ मा यसैको दोस्रो संस्करण निस्कियो । २०७७ कोरोना माहामारीले ध्वस्त बनायो । अहिले २०७८ मा दृष्टिकोणको तेस्रो संस्करण अनि उपन्यास सखिला जन्मियो ।

तपाईंको पहिलो कृति दृष्टिकोण । किन प्रेरणादायी नै पुस्तक लेख्नुभयो। नेपाली साहित्यमा कथा कविता इत्यादि धेरै क्षेत्र छन् । साहित्यको डोरीले नै नबाँधिएको जस्तो सबै कुरा मिसाएर तयार गर्नु भा छ दृष्टिकोण । किन यसो गर्नु भएको ?
जडीबुटीको ज्ञान,योग अभ्यास जस्ता कुरालाई समाजमा पस्किनु आवस्यता हुन्छ । यी कुरा पस्किएका पुस्तकलाई नेपाली साहित्य भन्न मिल्छ कि मिल्दैन त्यो कुरा विद्वत्वर्गलाई छोडीदिन्छु । दृष्टिकोण पनि यस्तै पुस्तक हो । समाजको आवस्यकता महसुस गरेर तयार पारिएको छ । साहित्यको डोरीले बाँधिए पनि या नबाँधिए पनि पुस्तकले धेरै माया पायो । यति मै खुसी छु ।
तपाईं विज्ञानको विद्यार्थी, कसरी नेपाली साहित्यमा प्रवेश गर्नु भयो ?
जुनसुकै विषयको विद्यार्थी भएता पनि मान्छे पहिला मान्छे त बन्नु पर्यो नि । मैले जुनसुकै विषयको ज्ञान लिएता पनि मभित्रको म त प्रस्फुटन हुनुपर्यो नि ! स्कुल कलेज र युनिभर्सिटीको पढाईले म भित्रको म खोज्नै सकेन । म मान्छेको भिडभित्र यसै हराएँछु । जब मलाई आफू हराएको बोध भयो आफैलाई खोज्न थालेँ । यसैको प्रतिफल हो ।
तपाईंको कुराले अध्यात्मको सङ्केत स्पष्ट पार्दैछ नि । के विज्ञान पन्साएर अध्यात्मलाई अङ्गाल्न पुग्नु भएको हो त ?
मैले विज्ञान पन्साएको छुइनँ । विज्ञान आवस्यकता हो तर अध्यात्म जीवन हो । यही अध्यात्म र विज्ञानलाई एउटा प्रयोगशालामा मिश्रण गरेर नै मेरो कलम चलेको छ । मैले अध्यात्म अङ्गालेको पनि होइन अध्यात्मले मलाई आकर्षित पारेको हो । यसैले मलाई फुटाएर झिकेको हो । म भौतिक संसारको चपेटामा च्याप्टिएको थिएँ । अध्यात्मले मलाई झिकेर नेपाली समाजमा दृष्टिकोण र सखिलाको नाम पुर्याइदियो ।
सखिला उपन्यास सत्य घटनामा आधारित रहेको छ । एउटी पात्रलाई टपक्क टिपेर चलाइको कलमले नेपाली समाजका हरेक नारीको प्रतिनिधित्व गर्छ । कसरी सक्नु भयो यति फराकिलो काम गर्न ?
हो सखिला सत्य पात्र हुन् । आजको जमानामा कसैले पनि कसैको व्यक्तिगत जीवनको कथा दुई मिनेट सुन्न या पढ्न रुचाउँदैन । आजको युगमा त्यसै त मान्छेले पुस्तक पढ्न छोडी सकेका छन् । जसले पढ्छन् ति मान्छेले पनि पैसा खर्च गरेर अर्काको कथा पढ्दैनन् । अर्काको प्रशंसा या बडीबडाँइ पढ्नलाई कसैले पैसा र समय खर्चिन खोज्दैन । पाठकले कथाका लागि अब पुस्तक पढ्दैनन् । पाठकले पुस्तकबाट धेरैभन्दा धेरै लाभ पाउनुपर्छ अनि मात्रै लेखक धन्यवादको पात्र हुन्छ। यही मान्यतालाई आधार बनाएर तयार पारिएको छ सखिला र दृष्टिकोण ।केवल लेख्नलाई मात्रै लेखिएका पुस्तक होइनन् नेपाली समाजले धेरै कुरा पाउँछ यी दुवै पुस्तकबाट ।
भाषा साह्रै सरल रोज्नु भएको छ । किन सरलता रोज्नु भयो ?
पुस्तक भनेको कलेज युनिभर्सिटि पढेका मान्छेले मात्रै पढ्नुपर्छ भन्ने होइन ! स्कुल भर्ना पनि नभएका तर नेपाली भाषा पढ्न र लेख्न सक्ने मान्छेले पनि पुस्तक पढेर लाभ उठाउन सकुन् भन्ने अभिप्रायले तयार गरिएको छ यी दुवै पुस्तक । अप्ठ्यारा र दैनिकी जीवनमा प्रयोग नहुने शब्द छनौट गरेर लेख्दा आफ्नो ओजन त झल्केला तर त्यो पाठकले बुझेनन् भने त्यसको अर्थ के ? यदि मेरो विद्वता या भनौ ज्ञान अरू कसैले ग्रहण नै गर्न सक्दैन भने मेरो ज्ञानको के अर्थ ? त्यसैले सबैले बुझ्ने शैली र भाषा प्रयोग गरिएको हो।
तपाईंका यी दुवै कृती कुन उमेरका मानिसलाई उपयुत्त छ नि ?
किशोर किशोरी देखि लिएर माथिका सबै उमेरकालागि उत्कृष्ट नै रहेछ पुस्तक भनेर पाठकहरूबाट प्रतिक्रिया पाएको छु । आफ्नो उद्देश्य र मिहिनेतले कदर पाएको अनुभूति गरेको छु ।
तपाईं कुनै सङ्घ संस्था या सङ्गठनतिर आवद्ध हुनुहुन्छ ? नेपालमा धेरै साहित्यिक सङ्गठनहरू छन् नि ।
अहँ । छुइन । कुनै पनि साहित्यिक सङ्गठनमा आवद्ध छैन । आफूले साहित्य क्षेत्रलाई नजिकबाट ननियालेका कारण खासै साहित्यिक सङ्गठनमा आवद्ध हुने अवसर पनि पाइनँ । म नेपाली साहित्य क्षेत्रका वरिष्ठ कलमकारहरू पनि त्यति धेरै चिन्दिनँ ! यो कुरामा मैले क्षमा माग्नै पर्छ ।
उपन्यास सखिलामा सखिला पात्रले संसार छोडेपछि जुन तरिकाले सखिलाको आत्मालाई भ्रमण गराउनु भएको छ साह्रै अनौठो र अद्भुत छ । कसरी कल्पना गर्न सक्नु भयो ?
सक्ने भनेकै कल्पना गर्न हो । यथार्थमा उत्रिनु भन्दा कल्पना गर्न सजिलो लाग्छ। आधारहरू पनि प्रसस्तै छन् । यस विषयमा मलाई अध्यात्मले नै सहयोग गरेको छ ।
पाठकहरूको प्रतिक्रिया कस्तो छ ?
सबैले मन पराइदिनुभएको छ । वहाँहरूले लेखेर पठाउनु भएको कुरा जस्ताको त्यस्तै दृष्टिकोण पेजमा राख्ने गर्छ हाम्रो टिमले । आजसम्म कसैले गाली गर्नुभएको छैन । उपलब्धि यही नै हो ! पुस्तक पाठकको हातमा पुगेपछि वहाँहरूले खुलेर भनिदिनु भएको छ ! उत्प्रेरणाले भरिएको पुस्तक भन्नुहुन्छ ! खुसी लाग्छ ।






