
पढ्नै पर्ने
सखिला आफैमा एउटा पूर्णत: हरेक नेपाली छोरीको प्रतिनिधित्व गर्ने उपन्यास हो । जसबाट हरेक नपालीले विभिन्न किसिमका शिक्षा हासिल गर्न सक्छन् । ।
सखिला सत्य पात्र हुन् । उनको जीवनमा समय र परिस्थितिले कति नाट्यात्मक तरिकाले के कस्तो भोगाइ भोग्न बाध्य बनाउँछ, यसबारे कलम चलाइएको छ । यो उपन्यासले के सखिलाको मात्रै कथा समेटेको छ त ? भनेर प्रश्न उठ्न सक्छ । विल्कुलै होइन । लेखकले उनलाई पात्रको रूपमा प्रतिनिधित्व गराएर नेपाली समाजभित्र एउटी छोरीले बालापनदेखि बुढेसकालसम्ममा भोग्नुपर्ने समस्यालाई पस्किएर निकै वैज्ञानिक तरिकाले समाधानका बाटाहरू खुलाईदिएका छन् ।
म एक साधारण महिला हुँ । जसलाई किताबी शिक्षा भनेको सानैबाट मन पर्दैन थियो । स्पष्ट भन्नुपर्दा स्कुल कलेज मेरो लागि कहिले पनि रहर थिएनन् र बनेन पनि । स्कुल कलेजबाट जति शिक्षा हासिल गरेको छु । त्यो परिवारको पढ्नुपर्छ भन्ने मान्यतामा आधारित रह्यो । केवल परिक्षा पास गरेर सर्टिफिकेट प्राप्त गर्दै शिक्षित बन्न खोजेकी मलाई सखिला उपन्यासले ठूलो उर्जा प्रदान गरेको छ । मैले कलेजको पढाइमा रहर अनि खुसी कहिल्यै भेटिनँ । न त खोज्ने नै प्रयास गरेँ । अग्रस्थान हुने चाह पनि कहिल्यै भएन र फेल हुने चिन्ताले पनि सताएन ।
पढ्नुपर्छ परिवारको खुसी हो सोचेर पढेको पढाइ मेरो अन्ततः कलेजको पढाइलाई सधैंको लागि बन्द गरेँ । बोझ भनेर हटाई छाडेँ । त्यहीँदेखि यो जीवनका भोगाइहरू सुरु भयो ।
अब किताब, कलेज जस्तै गरि समयले दिएको समस्याहरु पन्छाउनु नै मिलेन र बोझ भनेर हटाउनु नै सकिनँ । अनि शिक्षा तथा पढाइ कति महत्त्वपूर्ण रहेछ बल्ल महसुस गर्नु थालेँ । कलेजका पुस्तक जीवनमा नखोल्ने निर्णय लिएता पनि प्रेरणादायी पुस्तक किनेर पढ्न भने मैले कहिल्यै कञ्जुस्याँइ गरिनँ । यसरी कलेजको पढाइ स्थगित गरेपछि विगतमा सत्य लाग्ने मेरा तर्कहरू आफै असत्य सावित बन्दै जाँदा मनमा एउटा अदृश्य र अद्भुत अभावले पिरोल्न थालेको थियो ।
यसैगरी अदृश्य पीर अनि संसारिक मायाजालमा चल्दै गरेको दैनिकीमा एकदिन फेसबुक चलाउँदै थिएँ । स्क्रोल गर्दै जाँदा “दृष्टिकोण” पेज देखेँ जहाँ दुईवटा किताबको नाम “दृष्टिकोण ” र “सखिला” बारे बिस्तृत जानकारी राखेर विज्ञापन राखेको रहेछ । सबै पढे अनि ईच्छा लाग्यो पढ्न! किनभने, सानैबाट कथा कविता लेखचाहिँ पढ्न रमाइलो लाग्ने बिषय मेरो । दुवै पुस्तक मगाएँ । केही दिनमै मेरो ठेगानामा आईपुग्यो । आतुर थिएँ पढ्न उसैपनि मेरो फुर्सदको समय पनि थियो ‘दृष्टिकोण’ भन्दा सखिला पढ्नु मन लाग्यो ।
वास्तविक घटनामा आधारित भएर पनि होला म उत्साहित हुँदै पढ्नु सुरु गरेँ । जन्म परिवार गाउँघर बालापन कति सहज अनि रमाइलोसँग बित्छ सखिलाको । मैले म आफैंलाई सखिलाको जीवनमा पाएँ । बस् सखिलालाई जस्तो मलाई पढाईमा किन रहर लागेन है ? किन पढाईमा खुसी भेटिनँ ? आफैंलाई प्रश्न गर्दै फेरि पढ्नु सुरु गर्छु ।सखिलाको बालापनमा गाउँको त्यो जीवनमा म पनि रमाइरहेकी थिएँ । निरन्तर पढिरहन्छु म पनि रमाउँछु सखिलासँगै । समाजमा छोराछोरी अनि परिवारमा आफ्नो सन्तानप्रतिको आशा कस्तो अनि कति हुन्छ म आफैं भोग्दै गरेको जीवनमा सखिलाले मेरो अन्तरमन जीतिसकेको छ ।
बिश्वास भरोसा मान मर्यादाको शिर्षकमा एउटी छोरीले कति कुराहरुमा रोकिनु छेकिनु बाँधिनुपर्छ सखिलाले उदाङ्गो पार्दै जाँदा मेरा आँखा पटकपटक रसाएका थिए । जीवन उत्कृष्ट पार्ने रहरमा आफ्नो र परिवारको चाहानाहरु एउटै झोलामा पोको पारेर गाउँबाट शहर पस्नुपर्छ । रहर, उदेश्य अनि जवानीपनलाई संगालेर शहरको भिडमा हिँड्नु कति सङ्घर्ष गर्नुपर्छ । सङ्घर्ष गर्दागर्दै पनि समय परिस्थिति हाम्रो हातमा कहाँ हुनेरहेछ र ! जति चाहानाहरु पूरा हुँदै जान्छन् त्यति नै नयाँ सपनाहरु उम्रिदै जान्छ । सफल र खुसी जीवन खोज्ने हतारमा हुन्छौं हामी तर एकदिन समयले हाम्रो जीवन खोसिदिने रहेछ । मृत्यु हाम्रो हातमा कहाँ हुनेरहेछ र ! यहि दौडधूपमा सखिलाले भोगेका अनेक घटनाक्रमबाट हरेक युवायुवतीले सही मार्गदर्शन गर्छ ।
साखिलाको जिज्ञासु स्वभावले हरेक नेपाली छोरीको मनमा समुन्द्रको भलझैँ छल्छल्किएका अनेक अनुत्तरित प्रश्नहरूले उत्तर पाएको भेट्दा मेरो मनले ठूलो र लामो सास फेरेर सन्तुष्ट रहने अवसर प्रदान गर्यो ।
३० वर्षको छोटो आयु लिएर आएकी सत्य पात्र सखिलालाई उपन्यासको पाना पानामा जीवित राखेर नेपाली छोरीहरूलाई न्याय दिलाउनसक्नु नै उपन्यासकार उत्तम निरौलाको नेपाली महिलाहरूप्रतिको ठूलो सम्मान सखिला उपन्यासमा सावित भएको छ । विज्ञान विषय अध्ययन गरेका निरौलाले विज्ञान र अध्यात्मलाई वैज्ञानिक तरिकाले मिश्रण गरेर सरल र सभ्य तरिकाले पाठकको मन जित्न सफल भएका छन् भन्दा अत्युक्ति नहोला । कुनै पनि विद्यार्थीले सखिलामा भएका कुरा स्कुल कलेजमा पढ्न नपाउनु सायद सखिला उपन्यासको जन्म हुनुरहेछ जस्तो आभाष हुन्छ । नेपाली समाजमा एउटा नारी भएर जन्मिनु कति चुनौती छ अनि कति असहज छ ।
परिवार, समाज र इज्जत सबै कुराको सिमाभित्र रहेर आफ्नो सपना अनि खुसी खोज्नु कति सङ्घर्ष गर्नुपर्छ ।यति गर्दागर्दै पनि एकदिन जीवनसँग हारेर आफ्नाहरुको साथ छोडेर अर्को संसार जानुपर्छ । हो यहीँ जन्म र मृत्युभित्र रहेर लेखिएको उपन्यास ‘सखिला’ को बलियो पक्ष भनेको वास्तविक घटना पात्र सखिलालाई आधार बनाएर संयम सखिला मात्र होइन नेपाली समाजमा प्रत्येक नारीको कथामा आधारित यो उपन्यासमा जस्ताको त्यस्तै समेट्नु सक्नु हो । म एक नारी भएर पनि यी सबै कुरा महशुस गर्नु असक्षम छु जस्तो लाग्छ । तर सर्जक पुरुष भएर पनि नारीको मनोभावनालाई यसरी समेट्नसक्नु सहज पक्कै थिएन होला । लेखक उत्तम निरौलाले यति चुनौतीपूर्ण काम गरेर मेरो मात्रै नभई पाठकहरू सबैको मन जित्नु भएको छ ।
बालापनको रमाइलो, परिवारको खुसी समाजको मर्यादा (छोरी) नारीको अस्तित्वसँगै यौवनकालको हाम्रो सोचाइ, आफ्नो कयौँ सपना र चाहानाको थुप्रो अनि त्यहीँ थुप्रोमुनि हाम्रो मृत्यु । एउटा सिङ्गै उपन्यास पढेर मैले सर्जकलाई भन्नसक्ने भनेको यस्तै सरल र सहज पुस्तक लेखिरहनु होला हामी पाठकहरू लागि सौभाग्य हो ।
नवराज हुमागाई बाट प्रप्त सामाग्री
लेखिका सरिता खालिङ राई






