
हामी एक अल्पविकसीत राष्ट्रसँगै बेथितीको राज्य संयन्त्रको नेतृत्व भएको मुलुकका नागरिक हौँ । जहाँ हामी हरेक कुरामा अरुको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिडनु पर्ने अवस्था छ । हाम्रो देशको दक्ष जनशक्ति प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारीक र अनौठा कामहरू गरीसके तर हामी अझै विभिन्न आपत विपद र समस्याको समाधानमा पनि अरूसँग आश्रीत हुनुपर्दछ ।
विश्वव्यापी माहामारी कोभिड-१९ को दोस्रो र तेस्रो लहरले नेपालमा पनि दरिलो जरा गाडेको छ । त्यसविरुद्ध लड्नको लागि सरकारसँग न आवश्यक तयारी नै थियो न उचित अनुसन्धान र सम्भाव्य जोखिमको पुर्वतयारी नै । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्यो । सयौंको संख्यामा जनता मर्न थाले त दिनहुँ हजारौं संक्रमीत थपिए र त्यसपछि शुरु भयो नेपालको कहालिलाग्दो दृश्य । संक्रमित बिरामीको उपचार गर्न न त अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री छ न त बेड नै । अस्पतालमा शय्याको अभावमा एकै बेडमा तीन-तीन संक्रमितको उपचार गर्नुपर्यो, बिरामीले अस्पताल पुरै भरिए तर जनताको जीवन रक्षामा सरकारको अलिकति पनि ध्यान गएन । राष्ट्रिय विपत्तिमा समेत हरेक समस्यालाई बाहाना बनाउँदै पैसा कमाउने खेलमा तल्लिन रहे सम्म्बन्धित निकाएका पदीय जिम्मेवारी बोकेका व्यक्तीहरू । आखिर राजनिती न पर्यो । यदि मुलुकमा जनता नै नरहे कोमाथि गर्ने राजनीति ? कहिले त गरिब जनताको पिर मर्का पनि त बुझिदेउ ए सरकार !
जिम्मेवार व्यक्तिहरु अन्य मुलुकले उत्पादन गरेको स्वास्थ्य सामान खरिदमा कमिसन लिन व्यस्त छन् । सस्कारको यस्तै बेथितिको पाराले न त पुराना पुस्ताहरू परिवर्तनको जिम्मेवार भए, न त यहीँ तरीकाले नयाँ पुस्ता बन्ने छ । वर्षाैं जेल बसे, आन्दोलन गरे, हात भाचियो खुट्टा भाचियो भन्ने बाहानामा राज्यलाई लुट्न नेतृत्व चएन भएको हैन । देश र जनताको आलो घाउमा मलहम लागाउन र भलो हुने कामसहित परिवर्तनको आशा राखेर नेतृत्व चएन भएको हो ।
अहिलेको विषम परिस्थितिमा राजनितीक दलहरूबाट पदिय शक्ति, दम्भ र पैसा खर्च गरेर संवेदनशिल अवस्थामा पासको दुरुपयोगका साथै स्वास्थ्य सामग्री अभाव र एम्बुलेन्सको प्रयोग तस्करी हुनु, आन्तरिक तथा मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि चिन्ताजनक विषय हो । सरकारले फजुल खर्च र तडकभडकका खर्च नियन्त्रण गर्ने बेला यहीँ नै हो । कुहिएको एकबोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नु को पिडा ।
समस्यासँग लड्नु नै जित हो तर हरेक कुराको असरबारे हामीले पुर्वानुमान र मुल्यांकन गर्न जरुरी छ । मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोणमा कहिले फरक पाउने हामिले ? आजको हाम्रो समाज कतातिर जादैछ ? आत्मबल बढाएर आत्मविश्वास दिलाएर नागरिकलाई सचेत बनाएर समुदायलाई जोखिममुक्त गराएर कोरोनासँग लडन सक्ने शक्ति प्रदान गर्नुको सट्टा मान्छेहरुबाट नै अपमानित, तिरस्कृत र घृणित बनाउदै बिरामिहरुलाई झन सिथिल बनाइदै छ । कोरोना लागेमा आत्तिनु हुन्न भन्ने मानसिकता राखेर अहिलेको स्थितिमा आपसमा सहयोगको अपिल गर्दै आवश्यक सतर्कता स्यानिटाइजर, मास्क र सामाजिक दुरीको ध्यानपुर्वक पालाना गर्नुपछ ।
आज विश्व जगतले अनुसन्धान, आविष्कार र वैज्ञानिक पद्धति अपनाउँदै गर्दा नेपालले आफ्नो दक्ष जनशक्ति अन्य देश पठाउँदै छ । आजको दिनमा बाहिर रहेका दक्ष जनशक्ति नेपाल आउनको ल्याउनको सुरक्षित र क्षमता अनुसारको सेवा र सुविधा प्रदान गर्ने हो भने नेपाली तन र मनले नै नेपाल बनाउने छन । तर यसको सहि व्यवस्थापन गर्न राज्य अझै बेखबर छ ।
जातिए विभेद ,भष्टाचार, अनियमितता, पदको दुरूपयोग, चोरी, हत्या, हिंसा अनि बलत्कारका घटना नघटेको कुनै दिन छैन । यस्ता समाचारका कारण व्यक्तीको सोचमा कस्तो प्रभाव पर्ला ? आखिर हामीले कहीलेबाट परिवर्तन र बैज्ञानिक अनुसन्धान र आधुनीकीकरणको सकारात्मक सोचका कुराहरू सुन्न पाईएला ! जुन कुराले हरेक नागरिकमा आत्मबल बढाउने उर्जा पैदा गर्छ । यसर्थ सम्बन्धित निकाय र जनमासमा सकारात्मक सोचको विकास हुने वातावरण सिर्जना गर्नुपर्छ । जसले गर्दा हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर निर्माण गर्न सकौँ ।
देश परिवर्तनको जिम्मा प्रत्येक नागरिक र राजनितीक नेता तथा कार्यकर्तालाई लाई बराबर छ । त्यसैले सबैको पहिलो प्राथमिकता आम नागरिकमा सकारात्मक परिवर्तन ल्याउनु हुनुपर्छ । जसका लागि देशका हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति सचेत हुन जरुरी छ ।







