
झण्डै साढे दुई वर्ष अघि चिनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरसले विश्वभर डरलाग्दो महामारीको रुप लिईरहेको छ । महामारीको पहिलो चरणमा चिन, इटाली, अमेरिका निकै प्रभावित बनेको थियो । महामारी सुरु भएको करिब एक वर्षपछि नयाँ स्वरुपका साथ विकास कोरोना झनै दरिलो बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यस चरणमा भने अहिले भारत, ब्राजिल, पाकिस्तान, नेपाल, बङ्गलादेश लगायत विश्वका विभिन्न मुलुकहरुमा तिव्र गतिमा फैलिएको छ । जसको प्रत्यक्ष असरस्वरुप आर्थिक कारोबारमा मन्दि छाएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, हवाई सेवा लगायतका सबै कार्यक्षेत्र ठप्प जस्तै बनेका छन भने त्रासपूर्ण वातावरणकाबीच मानिसहरु आफ्नो दैनिकि गुजार्न बाध्य छन । यसबाट हरेक क्षेत्र प्रभावित बनेको अति महत्त्वपूर्ण तथा संवेदनशील क्षेत्र शिक्षामा यसको प्रभाव भने बढी नै देखिएको छ । हामी सबै यसबाट ज्ञात नै छौ, कि कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा कत्तिको ह्रास आएको छ ।
अघिल्लो वर्षमा परिक्षाको मापदण्ड नै परिवर्तन गरि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । कक्षा १० को आन्तरिक मुल्यांकन पद्धतिबाट र कक्षा १२ को पाठ्यभार घटाएर परीक्षा लिई नतिजा प्रकाशन गरिएको थियो । स्नातक एवम् उच्च तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था पनि अन्योलपुर्ण छ । ढिलो गरि सुरु भएको शैक्षिकसत्र छिटो सक्ने सरकारको तयारि रहेपनि कोरोना भाइरसको दोस्रो लहरको भयावह स्थितिपछि पुन:एक वर्ष पछाडिसम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले शैक्षिकसत्र फेरि पनि अन्योलमा परेको छ ।
छोटो समयमा नै धेरै पाठ्यक्रम अध्यापन गराउनुपर्ने बाध्यता विद्यालय प्रशासनसगँ छ भने जबर्जस्ती रेटिएर पढ्नुपर्ने बाध्यता विद्यार्थी वर्गमा रहेको छ । यसैको प्रभावले धेरै विद्यार्थीहरु (डिप्रेसन) मानसिक रोगको सिकारसमेत हुने गरेका छन । शिक्षा क्षेत्रमा फैलाइएका त्रास, भ्रमपुर्ण र तथ्यहिन जानकारीका कारण विद्यार्थी र शिक्षक वर्ग मारमा परेका छन ।
यस्तै अघिल्लो वर्ष पनि मानसिक तनावकै कारण विद्यार्थीले आत्महत्या गरेका समाचारहरु बाहिरिए भने धेरै विद्यार्थीहरुले बीचमै अध्ययन रोक्न बाध्य भए र धेरै शिक्षकहरुले जागिर छोड्न बाध्य बने ।विद्यार्थीको शैक्षिक सर्टिफिकेटलाई नै सफलता ठान्ने हाम्रो मानसिकता र दोषपूर्ण शिक्षा प्रणाली कै कारण शिक्षा क्षेत्रमा समस्याहरु चाङ्गिदैँ गएमा छन । समस्या समाधानमा अझै सरोकारवाला निकायको कुनै चासो देखिदैन जुन आफैंमा दुर्भाग्य हो ।
गाउँबाट उच्च तथा गुणस्तरीय शिक्षा आर्जन गर्ने उद्देश्यले शहरिएका विद्यार्थीहरुका समस्या झनै कहालिलाग्दो छ । एकातिर बन्दको कारण खाने लाउनेको ठेगान छैन भने अर्कोतिर घरभाडा र विद्यालय कलेजमा बुझाउनुपर्ने शुल्कले पिरोलिरहेको छ । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले एकै वषको पाठ्यक्रम अर्थात् एक समेस्टर सक्न पनि वर्षौ लाग्ने देखिएको छ । २०७७ सालको स्नातक प्रथम वर्षको परीक्षा अझै हुन सकिरहेको छैन भने दोस्रो वर्षको परीक्षा बिचमै रोकिएको हुनाले विद्यार्थी अलमलमा छन् ।
परीक्षा हुने नहुने भन्नेबारेको अपरिपक्व निर्णय, केन्द्र, सरकार र स्थानीय सरकारको जुहारि, विश्वविद्यालय र सरकारबिचको तालमेल नमिल्ने र छोटो समयमा नै निर्णय परिवर्तन भइरहने प्रवृत्तिले विद्यार्थीमा थप चिन्ता बढेको छ । विद्यालय तथा कलेजमा पढाइ नभए पनि फि चालू भईरहदा शिक्षा क्षेत्रका कुनै पनि सस्थांले खुलेर अनुगमन गरि आवश्यक कदम चाल्न सकेको छैन ।
महामारीको फाइदा उठाउदै कतिपय निजि स्कुल कलेजहरु फि उठाउन कै लागि खोलिए भने कतिले अनलाइन पढाएको भन्दै फि असुल्ने काम गरे । शैक्षिक माफियाहरुको झुण्डले शिक्षा क्षेत्रलाई धराशायी र प्रभावित बनाउन तेल थप्ने काम गरेको छ ।तर सत्तावृत्तमा रहेका र कथित प्रतिपक्षमा रहेका भनौदाहरु शिक्षा क्षेत्रको समस्याबारे संवेदनशील बन्न सकेनन । बरु सत्ता समिकरणको खेलमा आफुहरुलाई व्यस्त राखे ।
पार्टिका शैक्षिक सघं संस्थाहरु के का लागि खोलिएका हुन? देशव्यापी महामारी जस्तो विषम परिस्थितिमा पार्टीमा नेताहरु के गरिरहेका छन? विद्यार्थीका समस्याबारे बोल्दै छन कि आफ्नो नेताको बचाउमा लागि परिरहका छन? कि सत्ता समिकरणको हिसाबकिताब गरेर बसरिरहेका छन? अघिपछि जबर्जस्ती पार्टीको झण्डा भिराएर सडकमा आन्दोलनमा निकाल्ने आफुलाई विद्यार्थी नेता सम्झिने तर विद्यार्थी बारे केहि नबोल्नेहरु कहाँ छन? विपक्षी सङ्गठनका नेताहरु कुन विषयमा विरोध गरिरहेका छन? सरकारको विरोधलाई माशत आफ्नो कर्तव्य सम्झनेहरु विद्यार्थीका समस्या बोकेर सरकारको कुन निकायमा गए?
सत्ता पक्षका विद्यार्थी नेताहरुले “बा” ले जेसुकै गरुन भनेर छोडदिएको हो कि जस्तो पनि लाग्छ । होइन भने विद्यार्थीको समस्याबारे किन नबोलेको? राजनीति पछि गरौंला अहिले जिम्मेवारी सम्झिएर शिक्षा क्षेत्रलाई सुरक्षित बनाउन सबैजना जुट्न जरुरि छ ।त्यसका लागि सरकारलाई घचघचाउन जरुरि छ ।
यसअघिको एसईई हुनुभन्दा बाह्र घण्टा अगाडि मात्र परीक्षा स्थगित गरियो । हामीलाई विपत्तिले अघिल्लो वर्ष धेरै पाठ सिकाएक छ र त्यसलाई ध्यानमा राखि सरकारले अहिले कक्षा १० र १२ को परिक्षाबारे आवश्यक अध्ययन गरि तत्काल निर्णय लिनु जरुरी छ । शिक्षा क्षेत्रलाई खेलौना जसरि पटकपटक फरकफरक तरिकाले नचाइरहेका शैक्षिक माफिया र जिम्मेवारीबोध नभएका सरकारि निकायहरुको कमजोरीले गर्दा विद्यार्थी र शिक्षकको जीवन अन्योलमा परेको छ । शिक्षा भित्रको अनावश्यक राजनीतिले यसलाई थप मलजल गर्ने काम गरेको छ जसलाई तत्कालै रोक्नु आजको आवश्यकता हो ।







