
गाईको महत्व अनन्त छ । गाईबाट प्राप्त हुने हरेक वस्तु अमृत समान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ । पछिल्ला दिनमा विज्ञानले पनि गाईको दुधमा विभिन्न खालको रोग प्रतिरोधात्मक शक्ति हुन्छ भनेर प्रमाणित गरिसकेको छ । गाईको खुरले जमिनमा रहेको विषादी तत्व ग्रहण गर्दछ । तर त्यही खुरको जल खानाले मान्छेको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्दछ ।
गाईलाई विष पिलाए पनि विष ग्रहण गर्न सक्ने शक्ति गाईको गलामा रहेको नलिरूपी मालामा हुने गर्दछ अर्थात् गाईले आफ्नो घाँटीमा रहेको मालाबाट विष ग्रहण गर्ने एवम् आफ्नो शरीरका अन्य अंगहरूमा कुनै खालको प्रभाव पर्न नदिने संरचना हुन्छ । गाईलाई माताको रूपमा मान्ने परम्परा हिन्दु धर्ममा रहेको छ । गाईलाई देवीदेवताको रूपमा मानिन्छ । गाईको पुच्छरलाई शेष नागको प्रतीक र दुई वटा सिङलाई कुमेरु र सुमेरु पर्वत मानिन्छ ।
हाम्रो हिन्दु समाजले पञ्चगव्यको रूपमा गाईको दुध, दही, घ्यू, गहुँत र गोबरलाई मानेको छ । गाईको शरीरमा रहेका सबै अङ्ग प्रत्यङ्ग तथा अङ्गअङ्गमा विभिन्न देवता रहेको कुरा धर्मशास्त्रमा उल्लेख भएको पाउन सकिन्छ । प्रत्येक परिवारले गाईको पालनपोषण गरे धर्मर्कर्मअनुसार पुण्य प्राप्ति हुने र गाईबाट अमृतसमान दुध, दही, मही प्राप्त गर्न सकिने हुनाले दोहोरो फाइदा छ ।
गोमहत्वको सर्न्दर्भमा एउटा श्लोक यस्तो छ: “गोपर्शन बिहिनश्य गोदोहन मजानत। गोपोषण विहीनश्य तश्यजन्म निर्रर्थकम ।।”
अर्थात् गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निर्रर्थक हुन्छ । सन्तान नभएकाहरूले गाईको धर्म गरे सन्तान हुने जनविश्वास छ । राजा दिलिप र सुदक्षिणा नामका दम्पत्तिले सन्तान नहुँदा गाईको धर्म गरी सन्तान प्राप्ति हुने विश्वासका साथ निरन्तर सेवा गरे । फलस्वरूप पछि उनीहरूले सन्तान पाएको कुरा धर्मशास्त्रमा उल्लेख छ । मान्छे जन्मँदा पनि गाईको गोबरले लिपेको स्थानमा जन्माउने एवम् जन्मिसकेपछि पनि जन्मेको ठाउँमा गाईकै गोबरले लिपेर चोख्याउने गरिन्छ । मानिसको देहावसान अर्थात काजक्रिया गरेको ठाउँमा गाईको गोबरले लिपेमा ठाउँ पवित्र हुने धार्मिक विश्वास छ । गाईले लिपेको स्थानमा कुनै किटाणुको सहजै प्रवेश नहुनुका साथै सानातिना किटाणुहरू समेत नष्ट हुन्छ ।
हिन्दु धर्मको संस्कारअनुसार १६ संस्कारहरू रहेका छन् । सबै १६ संस्कार गर्नु पूर्व र पछि गोविकार प्रयोग गर्नु पवित्र मानिन्छ । गाईबाट प्राप्त दुध मानवीय स्वास्थ्यका लागि स्वस्थकर हुन्छ । भनाइ छ, बरु आमाले आफ्ना सन्तानलाई दुध दिन हिच्किचाउन सक्छिन् तर गौमाताले मानवलाई सहजै दुध दिने हुनाले गौमातालाई एक असल माताको रूपमा लिने गरिएको छ । गाई नेपालीहरुको गोमाता हो भने हिन्दूहरुको पुजनीय जनावर हो । जसलाई पाल्तु जनावरका रुपमा व्यवहार गरिन्छ । यसप्रति ममता, श्रद्धा, आदरभाव देखाउनुपर्छ ।
हिन्दु धर्मावलम्बीहरुका लागि गाईको धेरै महत्व रहेकाले यसको महिना बढेको हो । त्यसकारण गाईलाई मार्ने व्यक्ति गोहत्यारा मानिन्छ । हुन त कतिपयले गाईलाई गौमाताका रुपमा हेर्छन् । लक्ष्मी पूजाका दिनमा धनधान्यकी देवीका रुपमा पुज्छन् । नेपाली गाईलाई संरक्षण गर्नु नेपालीहरुको कर्तव्य र दायित्व हो । यसको सुधारले गौमाताको वंश हरण हुनेछ । नेपालबाट नेपाली गाई मासिनेछन् । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्छ अन्यथा नेपाली पञ्चामृत सकिने खतरा देखिन्छ ।







