
यथेष्ट प्रमाणसहितको मानव सभ्यता विकास भएको करीब छ हजार बर्ष हुँदासम्म यस पृथ्वीमा विभिन्न खालका महामारीले हलचल मच्चाइसकेको छ । यसको पछिल्लो शृंखला सुुरुवाती २१औं सताब्दीको कोरोना भाइरसको रुपमा रहेको छ । एथेन्सको
प्लेगदेखि द ब्ल्याक डेथ हुँदै अमेरीकन पोलियो महामारी, स्पेनिस फ्लु, सार्स र पछिल्लो इबोला भाईरसको कोहरामले पृथ्वी जगत, मानिस एवं जनावरमा ठुलो प्रभाव परेको छ ।
इतिहासको विभिन्न कालखण्डमा उत्पत्ति भएका उल्लेखित महामारीहरूले विकास र आधुनिकताको प्रतिरोधमा आफ्नै ढगंको प्रभाव र क्षति पुर्याएकाे पाइएको छ । चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाईरसले चीन, युरोप, अमेरिका हुदै विश्वको सबै देशहरूमा फैलिएको छ । यदिबेला विश्भर लगभग ७० लाख संक्रमित पुगेकाे छ भने ४ लाख चानचुनकाे ज्यानै लिसकेकाे छ यद्यपी अमेरीका र युरोपमा जस्तै मानवीय क्षती अरु देशहरूमा भएको छैन । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको यो रोगबाट मानवीय क्षति बाहेक आर्थीक र मनोसामाजीक पक्षमा पनि अतुलनिय क्षति पार्ने आँकलन गर्न सकिन्छ ।
विश्वको अर्थतन्त्रमा सन् १९२० पछिको
शक्तिशाली मन्दीको आँकलन गरीएको यस महामारीले नेपालको अर्थतन्त्रमा पनि दिर्घकालीन प्रभाव पार्ने कुरालाई नर्कान सकिन्न । पाँच तारे होटेलहरू ६ महिना बन्द हनु, उद्योगहरू संचालनमन नआउनु, आयात निर्यात ठप्प हुनु,अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूले जागीर गुमाउनु, विप्रेषण कम्तिमा ५० प्रतिशतको ह्रास, स्वास्थ्य क्षेत्रमा अत्याधिक
रकमान्तर आदि जस्ता कारणले यस वर्षको लागी कुल ग्राहस्थ उत्पादन वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा खुम्चिने विश्व बैंककोप्रक्षेपण रहेको छ जुन सन् २०१५ को महाभुकम्प पछिको सबै भन्दा कम हुनेछ ।
पक्कै पनि यस महामारी अन्त्य पछि मानिसहरूको गम्भिर परिवर्तन आउने छ । नीति निर्माणको सम्बन्धमा सबैतहको सरकार र नियमन निकायको भूमिका परिवर्तन हुनेछ । यद्यपि विदेशी सहयोग र अनुदानमा भर पर्ने हाम्रो देशको अर्थतन्त्रमा पर्याप्त मात्रामा सुधार ल्याउन सकिने अवसर भने छ । सम्पूर्ण रुपमा रेमिटले धानेको अर्थतन्त्र विश्व बजारमा रोजगारीको संकट आएसँगै धर्मराउने निश्चित छ । हाल खाडी र अन्य मुलुकहरूमा गरेर जम्मा जम्मी करीब चालीस लाख नेपालीहरू विदेशमा काम गर्छन । अन्तर्राष्ट्रिय उडान खुल्ने वित्तिकै वैध र अवैध रुपमा जागिर गुमाएर बसिरहेका करिव छ लाख नेपालीहरू तुरुन्त फर्किने वैदेशिक रोजगार वोर्डको अनुमान छ ।
महामारी पछिकाे देशले काचुलि फेर्न सक्ने प्रचुर सम्भावनाहरु
नेपालमा औसत मासिक ७० अर्ब रेमिट भित्रिन्छ । हो यस्तै खाले संकटको समयलाई अवसरको रुपमा प्रयोग गरेर अर्थतन्त्रमा कायापलट गरेको प्रसस्त उदाहरण विश्वका अन्य मुलुकहरूले दिइसकेका छन् । क्षमतावान सरकार र कुशल नीति निर्माणकर्ताको सम्योजनमा पक्कै पनि निराशाको समयमा आशाको दियो बाल्न सकिन्छ । बिशेष गरी नेपालको क्षमताको हिसाबमा कृषि, पर्यटन, निर्माण व्यवसाय, जलबिद्युत आदि प्रचुर सम्भावना बोकेका क्षेत्रहरू हुन् । परम्परागत रुपमा गरिएको कृषिलाई प्रविधिको प्रयोग गरी ब्यवसायिक रुपमा कम लागत लाग्ने गरी गर्न सकियो भने अवस्य पनि कृषिजन्य वस्तु आयातमा उल्लेख्य रुपमा कमी ल्याउन सकिन्छ जसको कारण गरीब जनताको आर्थिक स्थितिमा सुधार हुनुका साथै मुलुकको समग्र व्यापार घाटामा कमी ल्याउन सकिन्छ ।
कृषि कामको लागी चाहिने जनशक्ति बेरोजगार र बैदेशिक रोजगारी गुमाएका युवाहरू हुन सक्छन । बिदेशबाट आउने युवाहरूमा प्राविधिक ज्ञान र अनुभव हुने भएकोले स्थानिय स्रोत र साधन उपयोग गरी कृषिमा उच्च प्रतिफल पाउन सकिन्छ । परम्परागत सिँचाईमा सुधार, सामुदायिक खेती तथा पशुपालन, कृषि सहकारीको व्यापकता, सुगम यातायात, संचार क्षेत्रमा छलाङ, बिना धितो कर्जा तथा ब्याज अनुदान आदि कुराहरू कृषि क्रान्तिका केहि सबल आधारहरू हुन् । यसका साथै देश फर्किएका युवाहरूलाई आफ्नै देशमा लाज नमानीकन भौतिक पुर्वाधार निर्माण क्षेत्रमा दक्ष र अर्धदक्ष कामदार बन्न, तरकारी, फलफुल तथा अन्य खुद्रा व्यापारमा प्रोत्साहन गर्न सकिन्छ ।
जुन काम गरेबापत भारतीय नागरिकहरूले बर्सेनी करीब चार खर्ब नेरु आफ्नो देश लैजान्छन र यो रकम हाम्रो देशको रेमिट्यान्स आम्दानीको आधा हो । यसको प्रभावकारिताको लागि सरकारले आर्थीक नीतिमा सम्बोधन गर्न जरुरी हुन्छ । नेपाल पर्यटन दृष्टिकोणबाट हेर्ने हो भने पनि भगवानबाट वरदान पाएको मुलुक हो । सांस्कृतिक एवं धार्मिक विविधता, खेल पर्यटन, पुरातात्विक सम्पदा, पर्वतारोहण, पदयात्रा, वन्यजन्तु आरक्ष आदि कुराहरू पर्यटन विकासका आधार हुन् । विभिन्न खोजका अनुसार नेपाल विश्वको सस्तो मध्यको पर्यटकिय मुलुकमा गनिन्छ । योनै नेपाली पर्यटनको बलियो पक्ष हो जसको कारण विश्वका भ्रमणको सुचिमा नेपाल पर्दछ । नेपाल राष्ट्र बैंकलाई आधार मान्ने हो भने नेपालको जिडिपिमा पर्यटन क्षेत्रको योगदान करिब १० प्रतिशत रहेको छ । उबअत द्दण्ज्ञढ रिपोर्ट अनुसार नेपालको पर्यटन उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सन् २०२९ भित्र १३ लाख ५० हजार रोजगारी सिर्जना गर्न सक्ने आँकलन छ ।
कोरोनाको महामारीको कारणले हुने आर्थिक मन्दी र सम्भावित रोजगारी संकटको असरलाई न्युनिकरण गर्न यो उपयुक्त माध्यम हुन सक्छ । यद्यपी यसको लागी केन्द्र सरकार र स्थानीय सरकारलाई कडाइका साथ काम गर्ने र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्ने खालको योजना सार्वजनिक गर्ने चुनौती भने पक्कै छ । सन् २०१५ पछि जुर्मुराएको आन्तरिक पर्यटन कोरोना महामारी पछि समग्र पर्यटन विकास र अर्थोपार्जनको लागि निर्णायक सावित हुन सक्नेछ । हालै मात्र नेपालका सबै पाँच तारे होटेलहरू खर्च धान्ने अवस्था नभएर छ महिनाको लागी बन्द भएको प्रसङ्गसँगै सिङ्गो पर्यटन क्षेत्र अबका दिनहरूमा नराम्रो अवस्थाबाट गुज्रिनुपर्ने पक्का छ । यो महामारीको अन्त्य पर्यटकिय स्वभाव परिवर्तन हुन सक्नेछ ।
आन्तरिक तथा बाह्य पर्यटकहरू सस्तो गन्तब्य खोज्ने, थोरै दिनको भ्रमण तालीका बनाउने, व्यवसायिक भ्रमणका रुपमा हुने तालिम, गोष्ठि, सेमिनार आदि कम हुने सम्भावना रहेको छ । यसको असरहरू कम गर्न सरकार र पर्यटन व्यवसवयिहरूले परम्परागत वाहेक पर्यटकिय सभ्यतामा भित्रिएका नयाँ आयामहरू जस्तै इको–टुरिजम, कम लागतका भ्रमण प्याकेज, एकल यात्रा, ट्राभल ब्लगिङ, आध्यात्मिक पर्यटन (योग, ध्यान), सामुदायिक लगानी आदिलाई सम्बोधन गरेर नयाँ खालका प्याकेजहरू उपलब्ध गराउन सक्छन् । करीब ८३ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता भएको हाम्रो देश बिद्युतमा आत्मनिर्भर बन्न सक्छ ।
बर्षाको बेलामा विद्युत उत्पादनले माग पूरा गरे पनि हिँउदको बेलामा भारतबाट करीब पाँच सय मेगावाट विद्युत आयात गर्नुपर्ने अहिलेको अवस्था छ । हाल नेपालको पिक अवस्थामा बिजुलीको माग १५ सय मेगावाटछ र नेपाल विद्युत प्राधिकरणको अनुसार यो माग सन् २०२२ सम्ममा २३७९ मेगावाट र सन् २०३० सम्ममा ४२८० मेगावाट हुने अनुमान छ । ग्रामीण क्षेत्रमा उल्लेख्य रोजगारी सिर्जना गर्न सकिन्छ । यसका साथै थप उत्पादन भएको बिजुली हालै मात्र बङ्गलादेशसँग भएको उर्जा ब्यापार सम्झौता बमोजिम बेच्न सकिनेछ । कार्वन व्यापार नेपालको अर्को आम्दानीको माध्यम हुन सक्छ । कुल भुभागको करीब ४५ प्रतिशत वनजङ्गलले ढाकिएको नेपालमा करिब ९० लाख टन कार्वन सोसिएको वन तथा वातावरण मन्त्रालय बताउछ जसबाट नेपालले संयुक्त राष्ट्र संघको कार्वन क्रेडिट स्किम अनुसार करिब ५.५ अर्ब कमाउन सक्छ ।
यसर्थ सामुदायिक तथा निजी वन विकास अवधारणा ल्याएर सरकारले मनग्य आम्दानी तथा रोजगारी सिर्जना गर्न सक्दछ र लक्षित वर्गको आर्थिक अवस्था सुधार गर्न सक्दछ । कोरोनाको महामारी पछि नेपालले सुचना तथा संचार प्रविधिको क्षेत्रमा राम्रो प्रगती गर्न सक्ने अवसर पनि आफैमा उत्साहजनक छ । इन्टरनेट र बिद्युतिय उपकरणको प्रयोगले सरकारी सेवा, बैंकिङ्ग, व्यापार आदिको संचालन सहज, सरल र पारदर्शी हुने भएकोले अहिले नै जनताहरूलाई डिजिटल र अनलाइन प्रविधिको महत्व बुझाएर दिर्घकालीन रुपमा किफायती र सुरक्षित प्रणाली विकास गर्न सकिन्छ।यसो गर्नाले कार्यालयको सानोतिनो काममा हुने अनावश्यक खर्च कम हुनेछ । तसर्थ, विश्व नै कोरोना महामारिको कारणले त्राहिँमाम भएको र कोरोना पछिको जनजीवन कस्तो रहन्छ भन्ने यकिन नभएको स्थितिमा पनि आर्थिक संरचनागत परिवर्तन ल्याउन प्रयत्नशिल हुनु नै आजको आवश्यकता हो ।
चुनौतीलाई अवसरको रुपमा बदल्नको लागि अहिलेबाट नै देशले आफ्नो आर्थिक क्षमता र कमजोरी पत्ता लगाएर त्यसै अनुरुपको नीति निर्माण गर्न जरुरी छ । अनिमात्र संकटको घडिलाई अबसरकाे रुप दिन सकिन्छ । वैज्ञानिक एवं नतिजामुखी कृषि, पर्यटन विकास, जल विद्युत उत्पादन र व्यापार, बैंकिङ्ग प्रणालीमा जनताको सरल पहुँच नैअबको आर्थिक प्रगतिको आधार हो । जसरी दोस्रो विश्व युद्घ पछिको पहिलो दशकमा अमेरिकाले आर्थिक क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेको थियो त्यसैगरी नेपालले पनि यो संकटको घडीलाई अवसरको रुपमा प्रयोग गरेर कालो बादलमा चाँदीको घेरा लगाउनुपर्दछ ।
लेखक हिमालय बैँकमा कार्यरत छन्





