
शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा, आमा, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । हराएका तीन जनाको खोजीकार्य जारी, तीन जनाकाे शव फेला जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी नगरपालिका–८ टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज शव परीक्षण गरिने प्रजिअ पन्तले बताए। प्रजिअ पन्तका अनुसार हराएका तीन जनाको खोजीकार्य भइरहेको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताए ।
भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका नगरपालिका–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । ‘हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्नँ, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ’, उनले भने, ‘शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।’
दोषीलाई कानूनी दायरामा ल्याउन माग
राष्ट्रिय मानवअधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुमपश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सुक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याइ कारवाही गर्न सरकारलाई आग्रह गरेको हो । जातीय विभेदको पराकाष्ठाकारूपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीन जनाको स्थिति अज्ञात रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाको सुक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानूनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । समाजमा जातीय विभेदको स्थितिलाई निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानले छुवाछूत तथा भेदभावविरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव, नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धिविपरीत भएको आयोगले जनाएको छ । त्यस्तै नेपाल बार एशोसिएसनले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ । महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा दोषीलाई कारवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइ भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।
जाजरकोटको भेरी नगरपालि–४ निवासी नवराज विक र रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ निवासी एक युवतीबीचको प्रेमलाई वैवाहिक सम्बन्धमा अगाडि बढाउने सन्दर्भमा भएको घटनमा तीन जनाको निधन भएको र अन्य तीन बेपत्तासमेत भइरहेकाप्रति बारले ध्यानाकर्षण जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुमपश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कानूनीरूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधानपछिको नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद् भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको जनाएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याका दोषीलाई दण्डित गर्न काँग्रेसले माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद त्यस्तो अप्रिय घटना हुनसक्ने थिएन, आक्रमणको घटना हुँदै गर्दा पनि राज्यको उपस्थिति नदेखिएको तथ्यलाई गम्भीरतापूर्वक लिँदै काँग्रेसले केन्द्रीय सरकारको धारणा माग गरेको छ । नयाँ पत्रिका





