April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

रातो मच्छिन्द्रनाथ जात्रा, प्रशासन जिम्मेवार नहुँदा झडप

काठमाडौं, कोरोना कहरबीच यसवर्ष सबै जात्रा र चाड हुन नपाउने स्थितिभन्दा भिन्न भीडभाडपूर्ण दृश्य बिहीबार ललितपुरमा देखियो । स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने यो बेलामा मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु भयो ।  

विगत वर्षजस्तै हुँदो हो त रातो मच्छिन्द्रनाथको जात्रा सुरु भई जावलाखेलमा भोटो देखाइने थियो । यो रंगीन र उत्साहपूर्ण चाड भदौ पहिलो साता सम्पन्न भइसक्ने थियो। कोरोना महामारीका कारण जात्रा पूरा नहुने र आगामी असोजमा मलमास परेको हुँदा स्थानीय व्यक्तिलाई यसको बढी नै चासो भएको थियो । स्थानीयको यो चासोमा प्रशासनले सम्बोधन गर्न नसक्दा झडपकै स्थिति उत्पन्न भयो। स्थानीयले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गर्ने तथा प्रहरीले पनि उनीहरूमाथि ढुंगा र अश्रुग्यास प्रहार गरेको देखियो ।  

स्थानीय युवा र टोलवासीले रथ तान्ने अनुमति माग्दै बारम्बार प्रशासन गुहारे। तर जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले यसको निकास दिएनन्। जात्राको अनुमतिका निम्ति ज्यापु समाजले सबै प्रशासनसँग निकास मागिरहेको थियो। जात्राको समय घर्किँदै जाँदासमेत बेवास्ता गरेपछि बिहीबार झडपको अप्रिय स्थिति उत्पन्न भएको हो। रथ तान्ने स्थानीय समुदाय र प्रहरीबीच दिनभरिजसो विवाद भइरह्यो। जिल्ला प्रशासन कार्यालय र गुठी संस्थान गम्भीर नहुँदा यस्तो स्थिति सिर्जना भयो। यी निकायको अकर्मण्यताका कारण काठमाडौं उपत्यकाको गौरवपूर्ण जात्रा विवादित बन्न पुगेको छ। ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जात्रा मनाउने सम्बन्धमा आफूहरूले प्रशासनलाई समयसमयमा भेटे पनि कुनै निष्कर्ष ननिस्किएको बताए। उनले भने, ‘हामीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत भेटेका थियौं तर कसैले पनि रथ तान्ने सम्बन्धमा निकास नै दिनुभएन।’’  

ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले प्रमुख जिल्ला अधिकारीका कारण वातावरण बिग्रिएपछि झडपको अवस्था सिर्जना भएको आरोप लगाए। उनले भने, ‘प्रशासन गम्भीर नहुँदा यो घटना भएको हो। न त मेयरसापले राम्रोसँग यसलाई समाधान गर्न सक्नुभयो न त सिडिओसापले नै।’ प्रशासनले कुनै निर्णय नगरेपछि स्थानीयमा आक्रोश र चिन्ता बढ्दै गएको थियो। असोजमा मलमास परेका कारण रथ तान्न नमिल्ने र भदौभरि निषेधाज्ञाले बित्ने भएपछि पाटन क्षेत्रका युवा प्रशासनलाई समेत जानकारी नदिई बिहीबार यसका लागि तत्पर भएका थिए। सरकारले कोरोना नियन्त्रणका निम्ति भीडभाड र जमघट गरी जात्रा पर्व मनाउन रोक लगाइरहेको बेला ठूलो संख्यामा स्थानीय पुल्चोकमा जम्मा भएका थिए। आजको नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको