नदीखोलाले देखाएको विस्तारित बाटो

काठमाडौं,वबागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निक्र्योल भएको छैन । भीषण वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदीखोलाले भने फेरि आफ्नो विस्तारित बाटो देखाए ।
असोज १० गतेदेखि मुसलधारे वर्षा हुँदा पानीको सतह बढेपछि बहाव क्षेत्र खोज्दै उपत्यकाका नदी र खोला आफ्नो बाटो खोज्दै सहर र बस्तीतर्फ सोझिएका हुन् ।
सर्वोच्च अदालतको फैसलामाथि पक्ष र विपक्षमा बहस भइरहँदा असोजको लगभग मध्यमा आफ्नो विस्तारित क्षेत्र देखाएका हुन् । काठमाडौँ उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरी वा स्वाभाविक क्षेत्रमा समेत निर्मित भौतिक संरचना शुक्रबार र शनिबारको वर्षाका कारण डुबानमा परेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा खोला–नदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेजमा बाढी पसेर समस्या भयो । बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोलामा बाढीको भेल उर्लिंदा किनारका बस्ती डुबानमा परेका हुन् ।
बागमती नदी किनारका बस्ती
शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, शङ्खमूलसहित, थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ ।
विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, सङ्गम टोलसहित विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी र अन्य खोला अतिक्रमित क्षेत्रमा बाढी पसेर जनजीवन अस्तव्यस्त भयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नदी र खोला किनारका सबै बस्ती डुबानमा पसेको बताए । गोरखापत्र दैनिकबाट
प्रतिकृया दिनुहोस्