वर्षाका कारण दर्जनौं सडक अवरुद्ध, काठमाडौं उपत्यका जलमग्न

काठमाडौं, बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन्। करोडौं रुपैयाँको क्षति भएको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार पाँच प्रदेशका विभिन्न ठाउँमा भारी मात्रामा वर्षा भएको छ।
वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १७ वटा राजमार्गका विभिन्न सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, कान्ति लोकपथ, भीमफेदी सिस्नेरी, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्ड अवरुद्ध भएका हुन्।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार नागढुंगा–काठमाडौं सडकमा हिलोसहितको पहिरो जाँदा शुक्रबार दिनभर सडक अवरुद्ध भयो। बाटो खुलाएर एकतर्फी गाडी सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
जल तथा मौसम विभाग महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। झापाको अनारमनिमा २०३ मिलिमिटर र चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर पानी परेको छ।
यस्तै, इलाममा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबारदेखि पछिल्लो २४ घण्टामा देशभर विपद्का ५७ वटा घटना भए। प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार २४ घण्टामा देशभर भएको प्राकृतिक विपत्तिका कारण ३१ ठाउँमा पहिरो, १४ ठाउँमा बाढी र ७ वटा आगलागीका घटना भएका छन्। १० वटा परिवार विस्थापित छन्।
कुलेखानी ड्याम भरियो
गृह मन्त्रालयको विपत् महाशाखा प्रमुख भुसालका अनुसार मकवानपुरस्थित कुलेखानी ड्यामको बाँध भरिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। कुलेखानी ड्याम केही घण्टामा भरिन सक्ने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गर्दै ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भुसालले बताए।
ड्याम भरिएपछि पानी पोखिन सक्ने भएकाले बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीहरूमा बाढी आउन सक्ने देखिएको छ। त्यसैकारण तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र हाइ अलर्टमा रहन आग्रह गरिएको भुसालले बताए। शुक्रबार बिहान ९ बजे १५२५ मिटर रहेको उक्त ड्याममा पानीको सतह साँझ ५ बजे १५२६.५५ मिटर पुगेको छ। यो सतह १५३० मि. पुगेपछि पानी पोखिन सक्ने सम्भावना रहेको महाशाखा प्रमुख भुसालले जानकारी दिए।
उपत्यका जलमग्न
अविरल वर्षाका कारण काठमाडौं उपत्यका पनि जलमग्न भएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार राजधानीका विभिन्न क्षेत्रमा जोखिम मापन गरिएको छ।
जल तथा मौसक विज्ञान पूर्वानुमान महाशाखाका अनुसार कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर पानी परेको छ। ललितपुरको लेलेमा ११५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।
काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानाशा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ। बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। अन्नपूर्ण पोस्टबाट
प्रतिकृया दिनुहोस्