सहकारी ठगि प्रकरण: लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा

काठमाडौं, सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।
गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको हैसियतमा कारबाही सिफारिस भएपछि लामिछानेले ‘सहकारी ठगीमा आफूले क्लिन चिट’ पाएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। तर कानुनका विज्ञहरूले भने लामिछानेले गरेको कसुरमा ‘सहकारी ठगी’सहित चार वटा कानुन आकर्षित हुने र सोहीअनुसार कारबाही हुने बताएका छन्।
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकम कारोबारमा लामिछानेसहित चार जना संलग्न देखिएको भन्दै संसदीय समितिले कारबाहीका लागि सिफारिस गर्दै प्रतिवेदन बुझाएको छ।
कानुनविद्हरूका अनुसार लामिछानेविरुद्ध सहकारी ऐनअन्तर्गत सहकारी ठगी, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण ऐन, लिखत किर्ते अपराधमा कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।
संसद्ले कारबाहीका लागि सरकारलाई सिफारिस गरेकाले प्रहरीले मुद्दा चलाउनुपर्ने उनीहरूको तर्क छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदनका आधारमा लामिछानेमाथि सहकारी ठगीको मुद्दा चल्ने कानुनविद् टीकाराम भट्टराईले बताए।
‘क्लिन चिट पाएको भनेर हल्ला गरिँदैछ,’ भट्टराईले भने, ‘संसदीय समितिको प्रतिवेदनमा कारबाही गर्न सिफारिस गरेको छ।’ समितिको सिफारिसअनुसार लामिछाने दोषी देखिएको उनले बताए। ‘प्रतिवेदनले लामिछानेलाई दोषी ठहर गरेको छ,’ भट्टराईले भने, ‘प्रहरीले अनुसन्धान गर्दै जाँदा विभिन्न कानुन आकर्षित हुन्छन्।’
संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई कारबाही सिफारिस गरेको छ। कानुनविपरीत सहकारीको ६५ करोड रुपैयाँ ल्याएर गोर्खा मिडियामा दुरुपयोग गरेकाले सहकारी ऐनअनुसार लामिछानेविरुद्ध सहकारी गठीको मुद्दा चल्ने अर्का कानुनविद् ओमप्रकाश अर्यालले बताए।
उनका अनुसार संसदीय प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध सहकारी ऐनअन्तर्गत सहकारी ठगी, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता र सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा चलाउनुपर्छ।
‘कम्पनी (गोरखा मिडिया नेटवर्क) को बिउ पुँजी नै सहकारी ठगी गरेर ल्याएको पैसा हो,’ उनले भने, ‘यसमा सहकारी ऐनअनुसार सहकारी ठगीमा कारबाही हुन्छ।’
मिडियाको आवरणमा सहकारी ठगी भएको उनले बताए। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको भन्दै समितिले प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गरेको थियो। नागरिक दैनिकबाट
प्रतिकृया दिनुहोस्