May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

यस्तो छ नेपाल राष्ट्र बैंकको खाता रोक्का-फुकुवासम्बन्धी विनियमावली

काठमाडौं, नेपाल राष्ट्र बैंकले कुनै पनि व्यक्ति वा संस्थाको बैंक खातालाई तीन किसिमले रोक्का गर्न सकिनेगरी पहिलोपटक विनियमावली तयार गरेको छ ।

बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको हो ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन नियमावली जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

विनियमावलीनुसार कसुर गर्ने व्यक्तिको कसुर हेरी खाता तीन प्रकारले रोक्का हुन सक्नेछ । प्रचलित कानुनबमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसुर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता नै रोक्का गरिने विनियमावलीमा उल्लेख छ । यसैगरी, कसुरनुसार निश्चित खाता वा खातामा रहेको निश्चित रकम मात्र पनि रोक्का गर्न सकिने स्पष्ट पारिएको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का भनिने बताइएको छ ।

यसैगरी, निश्चित खाता रोक्का भन्नाले बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्का भनेर बुझाइने स्पष्ट पारेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत रूपमा प्रयोग गर्न सक्नेगरी गरिएको खाता रोक्का आंशिक खाता रोक्का हो ।

विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाइने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।

यस्तै, आंशिक खाता रोक्काअन्तर्गत भने ग्राहकको खातामा रहेको निश्चित रकम मात्रै रोक्का गरेर राख्न मिल्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले खाता फुकुवा गर्नका लागि पनि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, अदालतबाट फुकुवा गर्नुपर्ने आदेश आएको खण्डमा भने राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ ।

कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नुपरेमा राष्ट्र बैंकमार्फत माग गर्नुपर्ने पनि विनियमावलीमा उल्लेख छ ।

विनियमावलीनुसार खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ ।

त्यस्तै, विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिनसक्ने व्यवस्था गरिएको छ ।राजधानी दैनिकबाट