May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

सहकारी ठगी प्रकरण: लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको हो। ‘समितिमा आएका सबै प्रमाणले उहाँ अछुतो देखिनुभएन’, स्रोतले भन्यो।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्ता समेत सहकारीबाटै खुवाएको र बैकमा केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गरेको पुष्टि भएकाले लामिछानले दोषमुक्त नभएको ठहर समितिको छ।

‘उहाँ दोषमुक्त देखिनुभएन, सहकारीकै पैसाले गोर्खा मिडिया खोलेको देखिन्छ, त्यही पैसाले तलब भत्ता खुवाएको देखिन्छ, सहकारीको लगानी मिडिया गर्ने कुनै निति नियम छैन, दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको देखिन्छ’, समितिका एक सदस्यले भने‘बाहिर जे जे भनेपनि सहकारी बाहेक अन्य ठाँउबाट आएको पैसाको लगानी देखिएन।’ती सदस्यले लामिछानेको हस्ताक्षेरबाट पनि रकम निकालेको बताए। ‘लामिछानेको हस्ताक्षरबाट चेक मार्फत पैसा निकालिएको छ’, स्रोतले भन्यो।

छानबिन समितिमा ९ घण्टा बयान दिँदा, गोर्खा मिडियाका लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै आएका लामिछानेले त्यसअघि गोर्खा मिडिया छाड्ने बेलामा जीबी राईको जस्तो मुटु चाहिन्छ भनेर प्रशंसा गरेका थिए। कम्पनीको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको ठाउँमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशकका रूपमा रवि लामिछानेको हस्ताक्षर भेटिएको छ। कम्पनीका अध्यक्ष राईले जस्तै प्रबन्ध निर्देशक लामिछानेले पनि सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाई २०७७ वैशाख ५ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट सेयर कायम गराएका थिए।

लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको उल्लेख छ। समितिको प्रतिवेदन राती २ः३० सम्म तयार गरिएको थियो। छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति २ः३०मा चलेको थियो। साथै बैठकले नेपाली कांग्रेसका उपसभाति धनराज गुरुङको विषयमा पनि अनुसन्धानका लागि लेखी पठाउने निर्णय  गरेको छ।

‘कार्यदेशमा उल्लेख नभएपनि समितिमा उजुरी आएको र ठूलो रकम हिनामिनामा गुरुङ दम्पत्ति जोडिएकाले अनुसन्धानको आवश्यकता रहेको समितिको ठहर छ’, समितिका एक सदस्यले भने। नागरिक दैनिकबाट