सरकारले धरहरा सञ्चालन गर्ने

काठमाडौं, सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अन्तरिम कालका लागि धरहरा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
त्यसै गरी बैठकले हुलाकी राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको अहिलेको रेखाङ्कन (एलाइनमेन्ट) संशोधन गर्न र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको स्याफ्रुबेँसी बजार खण्डमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि नेपाल सरकारका तर्फबाट एसियाली विकास बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरिएको छ ।गोरखापत्रबाट
प्रतिकृया दिनुहोस्