जापानिज इन्सेफ्लाइटिसबाट देशभर १४ जनाको मृत्यु

काठमाडौं, जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिरहा, सुनसरी र झापा जिल्लाका बिरामी रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।
हरेक वर्ष विशेषगरी भदौ र असोज महिनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण उच्च हुने गरेको छ। इन्सेफ्लाइटिसको संक्रमण न्यूनीकरण एवम् नियन्त्रणका लागि तयारी र प्रतिकार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। परिवार कल्याण महाशाखाद्वारा प्रादेशिक स्वास्थ्य निर्देशनालयहरू, जिल्ला र द्रुत प्रतिकार्य टोलीहरूसँग शुक्रबार संयुक्त बैठक गरिएको छ। अन्नपूर्ण पोस्टबाट
प्रतिकृया दिनुहोस्