सम्पत्ति शुद्धिकरणमा अख्तियारको भ्रष्टाचारको मुद्दा

काठमाडौं, लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा २ रोपनी ११ आना १ पैसा १ दाम जग्गा किनेका थिए। तर, उक्त जग्गा घूसबापतको रकमबाट किनेको अख्तियारको दाबी छ।
कोषमा कार्य गरिरहेका निर्माण कम्पनीबाट घूस लिएर ०७९ वैशाख २७ मा भट्टराईले आमाको नाममा भक्तपुर गुण्डु वडा नं.३ स्थित कि.नं. १३७४, क्षेत्रफल २–९–०–१ र कि.नं.१३७५, क्षेत्रफल ०–२–१–० को जग्गा खरिद गरेको अख्तियारको आरोप छ। कोषमा काम गरिरहेका बाबुल निर्माण सेवा एकल र अर्घाखाँची–बाबुल जेभीबाट १ करोड ८५ लाख घूस लिएको रकमबाट त्यो जग्गा किनिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
लुम्बिनी विकास कोषबाट बोलपत्र आह्वान भई बाबुल निर्माण सेवाले एकल तथा जेभीमा बोलपत्र प्रस्ताव गरी आर्थिक वर्ष २०७५/०७६ भन्दा पछि ५ करोड वा सोभन्दा बढी सम्झौता रकमका १ अर्ब ३७ करोड २५ लाख ९७ हजार ६०३ रुपैयाँ बराबरका ठेक्का पाएका थिए।
तत्कालीन प्रमुख भट्टराईले ठेक्का सम्झौता गर्न सहजीकरण तथा मिलाई दिएबापत बाबुल निर्माण सेवाका प्रोप्राइटरसँग घूस रकम पठाउन भनी बैंक खाता नम्बरहरू उपलब्ध गराएको अनुसन्धानमा पाइएको छ। मूल्यांकन समितिका संयोजकसमेत रहेका भट्टराईलाई बाबुल निर्माण सेवाको प्रोप्राइटरले सिधै ८० लाख रुपैयाँ घूस÷रिसवत बापत जम्मा गरे÷गराएको पाइएको छ। त्यस्तै बाबुल निर्माण सेवाको प्रोप्राइटरले वकालतनामा पाई आफ्नो एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जेभीको खाताबाट विभिन्न बैंक खातामा १ करोड ५ लाख रुपैयाँ घूस÷रिसवत वापतको रकम दिएको देखिएको छ। भट्टराईले यसरी घूसबापत लिएको रकमबाट भक्तपुर, साबिक गुण्डु गाविस वडा नं.३ हालको सूर्यविनायक नपा वडा नं. ७ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको देखिएकोे अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
भट्टराई र उनकी आमाविरुद्ध घूस रिसवत लिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुर गरेको अख्तियारको दाबी छ। प्रवक्ता भट्टराईका अनुसार आमा छोराले भ्रष्टाचारजन्य कसुर गरी आर्जन गरेको १ करोड ८५ लाख सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले जग्गामा लगानी गरी सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी÷गराई सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको पाइएको छ। उनीहरूविरुद्ध घूस रिसवत तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुर गरेको सम्बन्धमा मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। कोषका तत्कालीन योजना प्रमुख भट्टराईविरुद्ध घूस÷रिसवतबापत भ्रष्टाचार गरी आर्जन गरेको आरोपमा १ करोड ५ लाख बिगो जरिवानासहित १० वर्षको कैद सजायको माग दाबी गरिएको छ। घूसबापतको रकमबाट खरिद गरेकोे जग्गा जफतको पनि मागदाबी गरिएको छ। अख्तियारले सरोज भट्टराईकी आमा जनक नन्दनीलाई पनि प्रतिवादी बनाएको छ।
मुख्य कसुरदार छोरा सरोज भट्टराईसँगको मिलेमतो तथा योजनामा जग्गा आफ्नो नाममा खरिद गरी लाभ प्राप्तसमेत गर्ने प्रकृतिको मतियार भई काम गरेको आरोपमा जनक नन्दनीविरुद्ध मुद्दा चलाइएको छ। जनक नन्दनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिमको कसुरमा छोरा सरोजको भन्दा आधा सजायको दाबी गरिएको छ ।
उनको नाममा रहेको भक्तपुर साविक गुण्डु गाविस वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० जग्गा जफतको मागदाबी गरिएको छ। अन्नको पोस्टबाट
प्रतिकृया दिनुहोस्