दुई दिनसम्म उठेन महिला र नवजात शिशुको शव, स्थानिय आन्दोलित
कैलाली, कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा महिला र नवजात शिशुको मृत्यु भएको दुई दिनसम्म पनि शव उठाइएको छैन । स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । दुई दिनसम्म शवको पोस्टमार्टम पनि हुन सकेको छैन ।
सुरक्षित प्रसूतिका लागि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका– २ बस्ने २८ वर्षीया लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमबार बिहान मृत्यु भएको थियो । चिकित्सकले पेटबाट शिशु निकालेको केहीबेरपछि दुवैजनाको मृत्यु भएको हो । लक्ष्मीका श्रीमान् शिवराज भट्टराईले अस्पतालको लापरबाहीले श्रीमती र शिशुको मृत्यु भएको भन्दै छानबिन भएर चित्तबुझ्दो जवाफ नआएसम्म शव नबुझ्ने बताए ।
मृतकका आफन्त र स्थानीय चिकित्सकको लापरबाहीबारे छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मंगलबार दिनभरजसो अत्तरियामा प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले बन्द गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । छानबिन समितिको रिपोर्ट नआएसम्म शव नउठाउने मृतकका आफन्त आशिष भट्टराईले बताए ।
चिकित्सकले दिएको बच्चा पाउने मितिको एक सातासम्म पनि बेथा नलागेपछि आफन्तले सामान्य अवस्थामै लक्ष्मीलाई आइतबार मालाखेती अस्पताल पु¥याएका थिए । मृतककी बहिनी धर्मा भट्टराईका अनुसार अस्पताल भर्ना गरेर स्वास्थ्यकर्मीले यौनांगमा सुत्केरी बेथा लाग्ने औषधि राखेका थिए, रातिसम्म पनि लक्ष्मीको स्वास्थ्य अवस्था सामान्य थियो ।
‘राति ३ बजेतिर अप्ठ्यारो भयो । सास फेर्न गाह्रो भएपछि बिहान ६ बजे अक्सिजन चढाइयो,’ अस्पतालमा कुरुवा बसेकी धर्माले भनिन्, ‘हामीले त्यतिवेलै बिरामीलाई अप्ठ्यारो भएको हो भने सेती अस्पताल लैजान्छौँ भन्यौँ, तर नर्सले सामान्य समस्या हो, बच्चाको अवस्था पनि सामान्य छ भने ।’
बिहान ८ बजे डाक्टरले पेटबाट बच्चा निकालेका थिए । केही मिनेटमै बच्चा र त्यसपछि आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आफन्तका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा लैजान्छौँ भन्दा डाक्टरले पनि सुरुमा केही हुन्न, नआत्तिनुस् भनेर आश्वस्त पारेका थिए । पछि केस जटिल भएको भन्दै धनगढी लैजान भनेको आफन्तको भनाइ छ । धनगढी लैजान एम्बुलेन्समा राख्दासम्म लक्ष्मीको मृत्यु भइसकेको थियो ।नयाँ पत्रिकाबाट
प्रतिकृया दिनुहोस्