गुणस्तर मापनबिनाको प्याड प्रयोगले महिलामा संक्रामक रोगको त्रास

काठमाडौं, गुणस्तर नभएका प्याड प्रयोग गर्दा महिलामा यौनजन्य संक्रामक रोग फैलिन सक्ने भए पनि सरकारले प्याडको गुणस्तर मापनमा वास्ता नै गरेको छैन । विदेशबाट आयात हुने स्यानिटरी प्याडको गुणस्तर जाँच आवश्यक नभएको भन्दै सीधै भित्र्याइन्छ भने स्वदेशी उत्पादनको हकमा उत्पादक कम्पनीले नै निवेदन दिए मात्रै गुणस्तर मापन गरिन्छ । स्वदेशी उत्पादकले विदेश निर्यात गर्नुपर्ने हकमा (विदेशमा गुणस्तर खोज्ने भएकाले) मात्रै गुणस्तर मापनका लागि निवेदन दिन्छन् ।
‘प्याड अनिवार्य गुणस्तर मापनभित्र पर्दैन । स्वदेशी कम्पनीको हकमा यदि कुनै कम्पनीले नेपाल स्ट्यान्डर्डका लागि निवेदन दिएमा विभागले गुणस्तर मापन गर्छ । तर, प्याड विभागको अनिवार्य गुणस्तर मापनअन्तर्गत भने राखिएको छैन,’ गुणस्तर मापन विभागका प्रवक्ता सञ्जीवकुमार ठाकुरले भने, ‘यसबाहेक, स्थानीय सरकारहरूले आफ्नो आवश्यकता र मापदण्डअनुसार खरिद गर्ने र प्रयोगमा ल्याउन सक्छन् ।’
भन्सार विभाग पनि गुणस्तरको चिह्न भएको वा प्रयोगशाला परीक्षण भएर आएका वस्तु आयात गर्दा मात्रै चेकजाँच गर्ने भएकाले प्याड सीधै भित्रिने गरेको जनाउँछ । ‘गुणस्तरको चिह्न भएका वा प्रयोगशाला परीक्षण भएर आयात भएका वस्तुको मात्रै भन्सारमा चेकजाँच हुन्छ,’ भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने, ‘प्याड सीधै आयात हुने गरेको छ ।’
पछिल्लो समय सुरक्षित महिनावारीका लागि बजारमा पाइने प्याडको प्रयोग बढे पनि गुणस्तरमा बेवास्ता गर्दा संक्रमणजन्य रोगको जोखिम बढिरहेको चिकित्सकहरूको चिन्ता छ । महिनावारीमा सरसफाइको कमी र रगत सोस्न प्रयोगमा ल्याइने कपडा वा प्याड गुणस्तरहीन हुँदा योनिमा संक्रमण देखिने, समयमै उपचार नहुँदा संक्रमण पाठेघरसम्म फैलिने, सेतो पानी बग्ने र पाठेघरमा समस्या निम्तिँदा प्रजनन स्वास्थ्यमै असर पर्ने प्रसूतिरोग विशेषज्ञ डा. सन्देश पौडेल बताउँछन् ।
‘विशेषगरी सरसफाइको कर्मीका कारण संक्रमण फैलिन्छ, अर्थात् प्याडजन्य वस्तु सुरक्षित नहुँदा यसको असर प्रजनन स्वास्थ्यमा पर्छ,’ उनले भने, ‘पछिल्लो समय स्कुले बालबालिकासमेत योनिमा संक्रमणको समस्या लिएर अस्पतालसम्म पुग्ने गरेका छन् । संक्रमणका कारणमध्ये प्याडजन्य वस्तुको गुणस्तर पनि मुख्य कारण देखिने गरेको छ ।’
महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्ने भए पनि गुणस्तरमा स्वदेशी र विदेशी कम्पनीले बेवास्ता गरिरहेका छन् । प्याडबारे जनचेतना फैलाउँदै आएका प्याडम्यान नामले परिचित ज्ञान महर्जन नियमन गर्ने निकाय नहुँदा बजारमा मापदण्ड पूरा नभएका प्याड छ्यापछ्याप्ती भेटिने गरेको बताउँछन् । नयाँ पत्रिकाबाट
प्रतिकृया दिनुहोस्