
काठमाडौं, सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन् ।
ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा नेपाली राजनीतिमा सत्ता र शक्तिमाहिर खेलाडीका रूपमा चिनिन्छन् ।
पञ्चायती शासन व्यवस्था प्रारम्भ भएसँगै २०२२ सालबाट संगठित राजनीतिमा लागेका देउवाले प्रधानमन्त्री, मन्त्री र अहिलेजस्तो सुखसयलको सायदै कल्पना गरेका थिए होलान् । मुलुकमा २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि अहिलेसम्म निरन्तर शक्तिको केन्द्रमै छन् उनी । नेपाल विद्यार्थी संघको अध्यक्षदेखि पार्टी सभापति र पटकपटक प्रधानमन्त्रीको जिम्मेवारीमा देउवा पुगेका छन् ।
२०४८ सालपछि सत्ता र शक्तिको वरिपरि कहिले देउवा छन् भने कहिले देउवाको वरिपरि सत्ता र शक्ति घुम्दै आएको छ । पार्टीका नेतालाई मात्र होइन, विपक्षीलाई पनि मिलाउन सिपालु देउवा ज्योतिषले भनेअनुसार सातपटक प्रधानमन्त्री हुन लालायित छन् ।
देउवाले मुलुकमा प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभा र संविधानसभा सदस्यका लागि भएका सबै निर्वाचनमा विपक्षी उम्मेदवारलाई भारी मतसहित ‘रिङ आउट’ गर्दै आएका छन्। देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धीलाई आफ्नै टिमबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन्। तीनपटक देउवासँग चुनाव हारेका माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट अहिले प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उम्मेदवार छन्। तर झन्डै ३० वर्ष देउवाका विश्वासपात्रमध्येका एक कर्ण मल्ल अहिले उनीसँगै प्रतिस्पर्धामा छन्।
नागरिक दैनिकबाट







