
काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध लाग्नेहरुलाई अरिङ्गाल बनेर ध्वस्त पार्न निर्देशन दिएका छन्। राजधानीमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध भ्रम फेलाउनेहरुविरुद्ध अरिंगाल भएर लाग्न निर्देशन दिएका हुन्।
‘अरिंगालजस्तो प्रचारवाजीमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्यो भन्छन्,’ उनले भने, ‘लगाउने नै हो। हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ, खन्याउन हुन्छ। बारुला भएर लाग्न हुन्छ। अनि हामी अरिंगाल बन्न नहुने?’
उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी तीतेपातीको झारजस्तै भएको बताए। उनले माधव नेपालको पार्टी अर्को भदौसम्म नरहने दाबी गरे। ‘तीतेपातीको बोट तीन महिनामा बुढो हुन्छ। ‘एस’ पार्टी भन्ने छ नि आजकल। पोहोर भदौमा जन्मियो। अहिले भदौमा बैंस आयो। अर्को भदौ पुग्दैन। तीतेपाटीको झारजस्तै हो,’ उनले भने।
उनले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भएको बताए। उनले आफू नेतृत्वको नेकपा एमाले भने युवा पार्टी भएको दाबी गरे।
‘स्थापना भएको ७२-७३ वर्ष भइसक्यो, तैपनि युवा पार्टी हुन्छ भन्ने आम जिज्ञासा हुनसक्छ। एउटा सल्लाको रुख ५० वर्षसम्म बढ्दै लाग्छ। मान्छेले वर पिपल लगाउन चौतारा चिनेको थाहा छ। वर-पिपल सयौं वर्ष बाँच्छ। कति वर्ष बाँच्छ बाँच्छ। म सानै हुँदादेखिका वर-पिपल छँदैछ। त्यसकारण चौतारा चिन्छन्। अनि एउटा तीतेपातेको बोट लगाउनपरो भने चौतारा चिन्छ कसैले?,’ उनले प्रश्न गरे, ‘गठबन्धनमा भएका दलहरु जति जति उमेरका भए पनि आयुअनुसारका बुढा पार्टीहरु हुन्। हाम्रो एमाले भनेको युवा पार्टी हो।’ अन्नपूर्ण पोस्ट







