
काठमाडौं, मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले सोमबार समयसीमामै प्रतिवेदन पेस गरेको छ। कार्यदल संयोजक डा. भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन्।
भदौ २७ गतेसम्म २ हजार २ सय ८९ उजुरी दर्ता भएको उल्लेख छ। तीमध्ये ५९ वटा फरफारक भएको जनाइएको छ। सातवटा उजुरीको छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको छ। अन्य ७ वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको छ। एकै व्यक्तिविरुद्ध चार वा सोभन्दा बढी उजुरी परेका छन्। आरोपितको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको छ।
मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्ने कार्यलाई निरन्तरता दिँदै छानबिन प्रक्रियालाई सम्बन्धित स्थानीय प्रशासनले तीव्रता दिएका छन्। कार्यदलले ३२ बुँदामा आफ्नो सिफारिस प्रस्तुत गरेको छ। ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारकहरूको विश्लेषण गरिएको छ।
श्रमिक तथा गरिब किसानहरूको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारणहरू खोतलिएको छ। साहुमहाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू औंल्याइएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।







