
काठमाडौं, मिटरब्याजमा ऋण लगाएर उठीबास लगाउने साहुकारहरूविरुद्ध आइतबार साँझसम्म पीडितका १७ सय ६८ उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले आइतबारसम्म उजुरी दिन आह्वान गरेको थियो ।
कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले साहुकारहरूविरुद्ध देशभरबाट पीडितका उजुरी संकलन गरिएको बताए । ‘साहुकारबाट पीडित हुनेहरूको आवाज देशभरबाट आउन थालेपछि कार्यदल गठन गरिएको हो ।
पीडितलाई उजुरी दिन आह्वान गरिएको ५ भदौसम्मको अवधिमा पीडितका १७ सय ६८ जाहेरी परेको छ । ती जाहेरी अध्ययनको काम सुरु भएको छ,’ उनले भने । पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
सबैभन्दा धेरै मधेस प्रदेशबाट नौ सय ८२ पीडितले जाहेरी दिएका छन् । महोत्तरी र बारामा अझै जाहेरी संकलन हुन बाँकी छ । दोस्रोमा बागमतीबाट धेरै पीडितको जाहेरी परेको छ । साहुकारविरुद्ध यो प्रदेशमा तीन सय ५६ पीडितले जाहेरी दिएका छन् । अझै दोलखा, नुवाकोट र रामेछापबाट जाहेरी संकलन हुन नसकेको कार्यदलले जनाएको छ । लुम्बिनीमा दुई सय १६ पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत जाहेरी दिएका छन् । अर्घाखाँची र पूर्वी रुकुममा जाहेरी संकलन हुन बाँकी छ । गण्डकीमा ५५ र कर्णालीमा २२ पीडितले साहुकारविरुद्ध जाहेरी दिएका छन् । डोल्पाबाट कसैले पनि जाहेरी दिएका छैनन् । सुदूरपश्चिममा ४५ पीडितले जाहेरी दिएको कार्यदलले जनाएको छ । यो प्रदेशअन्तर्गतका अछाम, बझाङ र डडेल्धुराबाट भने जाहेरी परेका छैनन् । नयाँ पत्रिकाबाट







