
काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट नेताहरुले कांग्रेसको बिँड बनेर एमाले सरकार ढालेको आरोप लगाएका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै कांग्रेसको बिँड बनेको आरोप लगाए।
उनले बन्चरो र रुखको कथन सुनाउँदै भने, ‘बन्चरो लिएर एक जनाले रुख ढाल्न थालेछन्। वरपरका रुखहरु बरबर आँशु खसालेर रुन थालेछन्। अरु रुखहरुले किन रोएको भनेर सोधेछन्। आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ। त्यो रुखले भनेछ, बन्चराले काट्यो त ठूलो कुरा होइन। फलामको बन्चरोले काट्दा त ठूलो कुरो होइन। तर हामीलाई काट्ने बञ्चराको बिँडचाहिँ काठकै छ, हामीजस्तै काठको। त्यो दुःखको कुरा छ।’
उनले अहिले राजनीति पनि बिँडजस्तै भएको बताए। ‘अहिलेको राजनीति त्यस्तै छ। कांग्रेसका बिँड हेर्नुस् त कस्ता छन्। एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँडहरु कस्ता छन्? के-के नामका छन्,’ प्रचण्ड र नेपाललाई इंगित गर्दै उनले भने।
उनले बन्चराले जसरी बिँडको सहाराले रुख काट्यो त्यस्तै बिँडहरुले एमालेमाथि प्रहार गरेको बताए। ‘बन्चराले मात्रै रुख ढाल्न सक्दै सक्दैन। घोट्दा पनि हुँदैन, हिर्काउँदा पनि हुँदैन। बन्चरालाई बिँड हाल्नुपर्छ, बिँडचाहिँ काठको हुन्छ। अहिलेका बिँडहरुले एमालेमाथि प्रहार गरे,’ उनले भने।
उनले अघिल्लो चुनावमा एमालेले कांग्रेसलाई २३ सिटमा पुर्याइदिएको बताए। २३ सिटमा पुर्याइदिएको कांग्रेसले बिँडको सहारामा परमादेशी सरकार बनाएको आरोप उनको छ। अन्नपूर्ण पोस्टबाट







