
काठमाडौं, संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ। बिहीबार संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको थियो।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले साउन ११ गते बसेको बैठकले एसपीपी रद्दको औपचारिकपत्र पठाउन सरकारलाई निर्देशन दिइसकेको थियो। एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउँदै समिति सभापति पवित्रा निरौलाले पटक–पटक एसपीपीको विषयमा अमेरिका र नेपालबीच विभिन्न समयमा पत्रचार भएको प्रतिलिपी उपलब्ध गराउन माग गर्दा पनि बेवास्ता गरिएको बताउँदै आएकी छन्।
मन्त्रिपरिषद् बैठकबाट नेपालमा एसपीपी कार्यक्रम रद्द गर्ने निर्णय भइसक्दा पनि एसपीपी रद्दको विषयमा अमेरिकालाई औपचारिकपत्र ढिला गरी पठाइएको थियो। चौतर्फि विरोधपछि सरकार एसपीपी लागू गर्ने विषयबाट ब्याक भएको थियो। एसपीपी रद्दको औपचारिकपत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता पक्षकै नेताहरूले पनि आग्रह गर्दै आएपछि संसद्मार्पmत परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपी नेपालले स्वीकार नगर्ने निर्णयको पत्र अमेरिकालाई पठाइएको जानकारी गराएका थिए। एसपीपीसँग सरोकार निकाय समितिको बैठकमा उपस्थित नहुनुले झनै सशंकित बनाएको समितिमा सहभागी सांसदहरूको निष्कर्ष छ। समिति सभापति निरादेवी जैरुले सरोकारवालालाई तत्काल उपस्थित हुन निर्देशन दिएकी हुन्। अन्नपूर्ण पोस्टबाट







