
काठमाडौं, मुलुकको पासपोर्ट विश्व वरीयतामा निकै कमजोर देखिएको छ। संसारभरिका पासपोर्टहरूको एक सर्वेक्षणले नेपाली पासपोर्ट पुछारतिर अर्थात् १०६औं स्थानमा देखाएको छ। जबकी उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा एक स्थान माथि छ।
बेलायती कम्पनी हेन्लिले सार्वजनिक गरेको अध्ययन (पासपोर्ट इन्डेक्स, २०२२) मा विश्वका ११२ वटा मुलुकको वरीयता निर्धारण गरिएको हो। जसअनुसार नेपालको विश्वव्यापी वरीयता (ग्लोबल र्याङ्किङ) सूचीमा पुछारतिर परेको छ। यसले परिवर्तित र प्रतिस्पर्धात्मक विश्व परिवेशमा परराष्ट्र सम्बन्ध सञ्चालन र व्यवस्थापन गर्न असहज हुने परराष्ट्र मामिला विज्ञहरू बताउँछन्।
अनअराइभल भिसा दिने आधारमा सूची तयार पारेको हेन्लि पासपोर्ट इन्डेक्समा जनाइएको छ। इन्डेक्सअनुसार, पहिलो नम्बरमा जापान छ। जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमा भन्छन्, ‘स्थिर सरकार, बलियो अर्थ व्यवस्था र कानुनी शासन कायम भएका कारण नै जापान वरीयताको पहिलो नम्बरमा पर्न सफल भएको हुन सक्छ।’
छिमेकी मित्र राष्ट्र, प्रमुख शक्ति राष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रहरूसँग मुलुकको सम्बन्ध मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्ध रहँदै आएको छ। पासपोर्टको कमजोर वरीयताले मुलुक र नागरिकको अवस्थालाई पनि सूचित गर्ने विज्ञहरू बताउँछन्। राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गरेका मुलुकको पासपोर्टको वरीयता पनि उच्च हुने पूर्वराजदूत माथेमाको भनाइ छ।
अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने दिशामा मुलुकको परराष्ट्र नीति परिलक्षित छ। नेपालले हालसम्म विश्वका १७७ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध राखेको छ।
पूर्वराजदूत माथेमाका अनुसार मुलुकभित्रको अवस्थाले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव पारिरहेको हुन्छ। सुशासनको कमी, राजनीतिक अस्थिरता र कमजोर आर्थिक अवस्थाले गर्दा पासपोर्टको वरीयता खस्किएको हो। ३८ मुलुकहरूले नेपाललाई अनअराइभल भिसा दिने गरेको हेन्लि इन्डेक्समा उल्लेख छ। वरीयतामा नेपालभन्दा उत्तरकोरिया एक स्थान माथि छ। उत्तरकोरियालाई ४० देशले अनअराइभल भिसा दिन्छन्। अन्नपूर्ण पोस्टबाट







