
काठमाडौं, सरकारले आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब आइतबार र शनिबार सार्वजनिक बिदा हुनेछ । प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुनेछन् ।
इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो । देशव्यापी रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।
गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठ (आज) देखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम २६ गते राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक बिदासम्बन्धी व्यवस्थाले औपचारिकता पाएको थियो । यही आधारमा गत २८ गते शिक्षा मन्त्रालयले पनि मन्त्रीस्तरबाट शिक्षण संस्थामा समेत सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
बिदा थप गरेसँगै सरकारले प्रशासनमा ‘वर्किङ आवर’ (कार्यघन्टा) बढाएको छ भने शिक्षण संस्थामा शुक्रबारको आधा दिन छुट्टी समय बढाउनुका साथै वार्षिक बिदा कट्टा गरेर पठनपाठन अवधि समायोजन गरेको छ ।
अब प्रशासनमा कार्यालय दिनको समय एक घन्टा थप गरिएको छ । शुक्रबारको ३ बजेपछिको बिदालाई पूरा समय कार्यालय समय कायम गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि अपराह्न ५:३० सम्म कार्यालय समय तोकिएको छ ।
लामो बिदाका कारण सेवा प्रवाहमा आइपर्ने जटिलतालाई सहज गर्न महत्वपूर्ण र आधारभूत सेवा प्रदान गर्ने कार्यालयमा लगातार दुई दिनभन्दा बढी बिदा नदिने व्यवस्था सरकारले गरेको छ । तर, यो व्यवस्था दसैँ र तिहारका हकमा भने लागू नहुने भनिएको छ ।
त्यस्तै, शिक्षण संस्थाहरूको हकमा विद्यालयहरूमा साबिकबमोजिम नै बिहान १० देखि अपराह्न ४ बजेसम्म पठनपाठन हुनेछ । शुक्रबार १ बजेसम्मको पठनपाठनलाई अन्य दिनझैँ ४ बजेसम्म कायम गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेबमोजिमको पाठ्यघन्टा (क्रेडिट आवर) र कार्यघन्टा (वर्किङ आवर) नघट्ने गरी पठनपाठनका कार्यहरू सञ्चालन गर्न अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदा कट्टा गरेर पूर्ति गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । यसो गर्दा वर्षभरमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक–पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ । यहीअनुसार वार्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले विद्यालयहरूलाई भनेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







