
काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई भोट नदिन अपिल गरेका छन्। ‘दुई तिहाईको सरकार भएर पनि ओलीजीले संसद भंग गरे। उनले प्रदेश सभाहरू पनि भंग गर्ने तयारी गरेका थिए, अझ पनि उनैलाई जिताउनु भयो भने फेरी संसद भंग गरिदिन्छन्’ धनगढीको रंगशालामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने।
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अब जनतासमक्ष भोट माग्न जानुको अर्थ नभएको बताएको छ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले एमालेले अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको आरोप लगाए।
प्रवक्ता महतले कार्यसम्पादन सूची सार्वजनिक गर्दै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले गरेको संस्थागत स्वःमूल्यांकनमा उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिले नेतृत्व गरेका पालिका परेको देखिएको बताए। उनले भने, ‘कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरू परेका छन्।
जनताको सेवा र स्थानीय विकासमा कांग्रेसका प्रतिनिधिहरू अन्य दलका प्रतिनिधिभन्दा अब्बल सावित भएको यो बलियो प्रमाण हो।’ प्रवक्ता महतले कांग्रेसले २०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत रहेको बताउँदै अहिले त्यो घटेर १७.५ प्रतिशत पुगेको बताए। २०४८ सालको निर्वाचन पछिको कांग्रेसको सरकारले अंगीकार गरेको उदार, खुला बजारमुखी, प्रतिस्पर्धात्मक आर्थिक तथा विकास नीतिले देशमा उद्योग र व्यापार, बैंक तथा वित्तीय संस्था, पुँजी बजार, हवाइ क्षेत्र, शिक्षा, स्वास्थ्य, बीमा, घर–जग्गा तथा आवास विकास, निर्माण क्षेत्रमा आशातीत विकास भएको पनि स्विकारेको छ। वैदेशिक रोजगारीको अवसरले नेपालको अर्थतन्त्र र ग्रामीण तथा शहरी गरिबी घटाउन ठूलो मद्दत पुगेको पनि डा. महतले प्रष्ट पारे।
कांग्रेसले नै ऊर्जा संकटबाट देशलाई लोडसेडिङ मुक्त गराएको भन्दै विद्युत् आयात गर्ने अन्तरदेशीय ढल्केबार मुजफपुर प्रशारण लाईन र सबस्टेशन निर्माणको कामको सुरुआत कांग्रेसले गरेको बताएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।







