एमालेको घोषणा–पत्र: भ्रष्टाचार गर्नेलाई कडा कारबाही

काठमाडौं, एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा संकल्प गरेको छ। ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको संकल्प छ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा यस्ता संकल्प गरिएका हुन्। पार्टीका नेताहरूले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘संकल्प’ भनेको छ। घोषणापत्रमा भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ। छोटो समयमा नै मुलुकलाई समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ओलीले ७ प्रतिबद्धतासहित ४८ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘सुशासन, समृद्धि र समाजवादीको आधार पालिकापालिकामा एमालेको सरकार’ भन्ने नाराका साथ घोषणापत्र ल्याएको हो। रेल, पानीजहाजदेखि विद्युतीय बसको विषय घोषणापत्रमा उल्लेख छ। अशक्त अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई घरमा नै भत्ता उपलब्ध गराउनेदेखि लोपोन्मुख, सीमान्तकृत, धार्मिक र लैंगिक अल्पसंख्यक, जोखिममा परेको जाति र परिवारको संरक्षणको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता एमालेको छ। बालबालिका, ज्येष्ठ नागरिकका साथै युवाका एजेन्डालाई पनि घोषणापत्रमा राखिएको छ।
सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार
सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने प्रतिबद्धता एमालेको छ। सडक, हवाई, जल, केबलकार, रोपवे, दूरसञ्चारलगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ।
प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ।
ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने पनि एमालेको घोषणापत्रमा छ। विद्युतीय सवारीसाधनलगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट
प्रतिकृया दिनुहोस्