
काठमाडौं, स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् ।
राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलका अनुसार पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न बढेको छ । उनले भने– ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो । किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय ९२ जनाले जागिर छाडिसकेका छन् । जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए ।’
गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ । चालु आर्थिक वर्षमा १ हजार ३ सय ४० जना शिक्षकले सेवा निवृत्त सुविधा माग गर्दै राजीनामा दिएका छन् । तीमध्ये १ सय ८५ शिक्षकको सेवा अवधि २० वर्ष पनि पुगेको छैन । तथ्याङ्कअनुसार यो आर्थिक वर्षमा हालसम्म २ सय ३३ शिक्षकको मुत्यु भएको थियो । मृत्यु भएपछि प्रक्रिया पूरा गर्न निवेदन दिने शिक्षकको संख्या बेग्लै हो । नेपाल समाचारपत्र दैनिकबाट







