April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

सरकार, मन्त्री नै ‘ब्ल्याकमेलर’का रूपमा पैसा माग्ने: ओली

काठमाडौं, अर्थतन्त्र ओरालो लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चिन्ता प्रकट गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको एमालेको ठहर छ। एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले व्यवसायीसँग छलफल चलाएर खबरदारी गरेको हो। सरकारले अर्थतन्त्र निराशाजनक र डरलाग्दो अवस्थामा पुर्‍याएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए। 

यो सरकार र मन्त्रीहरू ‘ब्ल्याकमेलर’का रूपमा काम गरिरहेको ओलीले बताए। ‘सरकार, मन्त्री नै ‘ब्ल्याकमेलर’का रूपमा पैसा माग्ने, दिएन भने तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, ताला लगाएर, छापा मारेर, उद्योगीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ भनेर लागेको देखिन्छ,’ ओलीले छलफलमा भने।

सत्तामा बसेर उद्योगी व्यवसायीलाई थर्काउने प्रवृत्ति घातक रहेको उनको भनाइ थियो। माओवादी केन्द्रतर्फ संकेत गर्दै ओलीले भने, ‘हिजो राज्यसत्ताभन्दा बाहिर बसेर गरिन्थ्यो, आज त्यही कुरा सत्ताबाट गरिन्छ। यो अर्थतन्त्रका लागि गम्भीर र खतरानाक हो।’ 

अर्थतन्त्रका सबै सूचक नकारात्मक हुँदा पनि सरकार राम्रो छ भनेर हिँडिरहेको ओलीको भनाइ थियो। ‘उहाँहरू देशको अर्थतन्त्र चुस्त, दुरुस्त छ भनाउन तल्लीन हुनुहुन्छ। जुन खालको धन्दा उहाँहरू गर्न खोज्दै हुनुहुन्छ, यो उपयुक्त होइन,’ ओलीले भने। उनले जनताको जीवनस्तर उकासेर आर्थिक समृद्धि हासिल गर्नु राजनीतिको महत्त्वपूर्ण पक्ष हुने बताए। ‘को सरकारमा छ भन्ने विषयले भन्दा पनि अर्थतन्त्र कसरी चलेको छ भन्ने विषयले अर्थ राख्छ,’ अध्यक्ष ओलीले भने । अर्थतन्त्र एकपटक धराशायी भएपछि त्यसले भयावह परिणाम ल्याउने उनले बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको