May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

हरियो रङको मतपत्र छाप्ने तयारीमा एमालेको आपत्ति

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्र छाप्ने तयारी गरेकोप्रति आपत्ति जनाएका छन् ।

अखिल नेपाल महिला सङ्घद्वारा मङ्गलबार राजधानीमा आयोजित ११२औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा अध्यक्ष ओलीले कुन आधारमा हरियो रङको मतपत्र छाप्ने निर्णय गरियो भन्ने प्रश्न गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने, “निर्वाचन आयोगले मत पत्रमा हरियो रङ राख्ने भयो रे, मिडियाबाट यो थाहा पाएको हुँ । यदि हो भने कुन हिसाबले राख्ने ? “सबैतिर रुखैरुख देखून् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ ।

यसैबीच अध्यक्ष ओली पोखरा पुगेर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका नौ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसङ्गठनका तीन जना अध्यक्षसहित एमाले प्रवेश गर्नुभएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको