माओवादी केन्द्र विभाजनको संघारमा

काठमाडौं, अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्ता घटक नेकपा माओवादी केन्द्र विभाजनको संघारमा पुगेको छ। सम्झौता अनुमोदनलाई राष्ट्रघात भन्दै असन्तुष्ट समूहले पार्टीबाट अलग हुन पार्टी पंक्तिमा छलफल चलाएको छ।
आठौं महाधिवेशनको ‘एकताबद्ध पार्टी’ म्याण्डेट विपरीत अधुरो (२९९ सदस्यीयमा २४६ जना) केन्द्रीय समितिले पूर्णता नपाउँदै र पदाधिकारी चयन नहुँदै चुनावको मुखैमा पार्टी फेरि विभाजनको दिशातिर गएपछि नेता कार्यकर्ता चिन्तित बनेका छन्।
विगतमा वैचारिक/राजनीतिक कार्यदिशा, सामाजिक क्रान्ति, साम्यवाद र गुटगत कारणले पटक-पटक फुटेको माओवादी अहिले फेरि एमसीसीमा नेतृत्वले लिएको निर्णयले संकटमा परेको हो। असन्तुष्ट समूहको नेतृत्व गर्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीमा छलफल र परामर्श तीव्र पारेपछि मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हात्तीवन पुगे। श्रेष्ठ निवासमा प्रचण्डले एमसीसीमा जे-जे मतभेद भए पनि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिए। नारायणकाजीले पनि ‘तपाईंले निस्केर जा भनेपछि सोच्न बाध्य भएँ’ भनेर जवाफ दिए।
नारायणकाजीको भनाइमा प्रचण्डसँग उनको कुरा मिलेको छैन। नेतृत्व र पार्टीभित्रको छलफललाई निरन्तरता दिने जवाफ उनले अध्यक्षलाई दिएका छन्। दुबै आ-आफ्नो तर्फबाट समीक्षा गर्ने भनेर छुट्टिए। बुधबार पनि अध्यक्ष प्रचण्डले पार्टी जोगाउन दौडधुप थालेका छन्। उनले असन्तुष्ट नेताहरुसँग परामर्श थालेका छन्। प्रधानमन्त्री एवं सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालाई समेत यस विषयमा जानकारी गराएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्