May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

युवा लक्षित युवापरिषद् नै युवाबाट टाढा

काठमाडौं, युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को छ तर यी कार्यक्रम खासै प्रभावकारी भएको छैन ।

परिषद्मा स्थापनाकालदेखि नै राजनीतिक नियुक्तिलाई प्राथमिकता दिने गरिएको छ । केन्द्रमा रहने कार्यकारी उपाध्यक्षदेखि जिल्लास्तरमा रहने जिल्ला युवा समितिको अध्यक्ष नियुक्तिसमेत दलीय आस्थाको आधारमा हुने गरेको छ । युवामाझ जान सक्नेलाई छनोट गर्नुको सट्टा दलका कार्यकर्तालाई मात्रै नियुक्तिदिँदा जिल्लास्तरमा रहने यस्ता समितिको अध्यक्षको काम तलब भत्ता लिनेमा मात्रै सीमित हुने गरेको छ ।

युवाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न परिषद् सफल नभएको तथा युवा मैत्री काम गर्न नसकेको आरोप परिषद् पदाधिकारीलाई लाग्ने गरेको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले दलीय आस्थालाई मात्र प्राथमिकता दिने प्रचलनले परिषद्बाट प्रभावकारी काम हुन नसकेको बताए । उनले भने, “भर्खर स्थापना भएको हुनाले परिषद्बाट ठूलो अपेक्षा त गर्न सकिँदैन तर यस अवधिमा जति काम गर्न सकिन्थ्यो । त्यो भने हुन नसकेको सत्य हो ।” प्रभावकारी काम गर्न सकेको छैन ।

बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षाजस्ता विद्यमान समस्या भए पनि ती समस्यामा केन्द्रित भएर परिषद्ले काम गर्न नसकेको महरको आरोप छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि परिषद्ले सोचेअनुसार काम गर्न नसकेको स्विकारेका छन् ।

उनले भने, “सरकारले पदाधिकारी नियुक्ति गर्ने भएकाले परिषद्अन्तर्गतका निकायमा दलीय प्रभाव पर्नु स्वाभाविक हो तर जुन दलको आस्था बोकेको भए पनि योग्य व्यक्तिलाई ल्याउनुपर्छ । मेरो कार्यकालमा दलीय आस्थालाई पाखा लगाएर युवालाई केन्द्रमा राखेर कार्यक्रम तय गर्छु ।”

शीर्ष समाचार

धेरै पढिएको