June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

स्थानीय निर्वाचनमा १ लाख १८ हजार म्यादी प्रहरी आवश्यक

काठमाडौं, गृह मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी चाहिने निष्कर्ष निकालेको छ । एकै चरणमा निर्वाचन हुँदा ठूलो संख्यामा म्यादी चाहिने भएपछि खर्च पनि बढ्ने भएको छ ।

गृहका अनुसार आगामी निर्वाचनमा म्यादी प्रहरीमा मात्र करिब ६ अर्ब खर्च हुने भएको छ । म्यादी प्रहरीले प्रहरी जवानबराबरको तलब पाउँछन् । हाल प्रहरी जवानको आधारभूत तलब २० हजार ६ सय ८० रुपैयाँ छ । एक लाख १८ हजार म्यादी प्रहरीका लागि एक महिनाको तलबमै दुई अर्ब ४४ करोड खर्च हुन्छ । करिब दुई महिनाको अवधिका लागि म्यादी प्रहरी भर्ना लिइन्छ । तलबमा पाँच अर्ब तथा उनीहरूका पोसाक, तालिम र खाजा खर्चमा थप एक अर्ब लाग्ने गृह मन्त्रालयको आकलन छ । सोहीअनुसार अर्थ मन्त्रालयसँग बजेट माग्न लागेको गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताए ।

निर्वाचनमा २० अर्बभन्दा धेरै सुरक्षामा मात्र खर्च हुने भएको छ । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन खर्चका लागि बजेट माग्ने तयारी गरेका छन् । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिनेछन् । तर, मतदान केन्द्रको भित्री सुरक्षाको जिम्मेवारी प्रहरीले नै गर्ने र एकै चरणमा निर्वाचन गर्दा सुरक्षाकर्मीको संख्या केही कम हुने भएकाले म्यादी प्रहरीको संख्या बढाउनुपरेको गृहले जनाएको छ ।

पाँच वर्षअघिको स्थानीय चुनावमा ७५ हजार तथा संसदीय निर्वाचनमा ९४ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यतिवेला स्थानीय चुनाव तीन चरणमा तथा संसदीय निर्वाचन दुई चरणमा भएको थियो । सरकारले आगामी स्थानीय तहको चुनाव ३० वैशाखमा देशैभर एकै चरणमा गराउने निर्णय गरिसकेको छ ।नयाँ पत्रिका दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको