January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

श्रमिकको डेढ अर्ब ६ महिनासम्म पनि निकासा भएन

काठमाडौं, सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अझैसम्म निकासा गरेको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए ।

सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना जारी गर्‍यो । तर, अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा अहिलेसम्म नभएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले बताए ।

सामाजिक सुरक्षा कोषका अनुसार सरकारले घोषणा गरेको १ लाख ७५ हजार योगदानकर्ताको करीब डेढ अर्ब रूपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्छ । त्यो रकम निकासाका लागि गत असारमा सामाजिक सुरक्षा कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसमक्ष दाबी निवेदन पेश गरेको थियो । तर, अहिलेसम्म सुनुवाइ नभएको पन्थीको भनाइ छ । चालू आर्थिक वर्षको छ महीना पूरा हुँदा पनि सरकारले अझै रकम जम्मा गरिदिएको छैन ।

‘हामीले बजेटमा आएको व्यवस्थाअनुसार जेठ र असारको योगदान जम्मा नगर्न योगदानकर्तालाई सूचित गर्‍यौँ । तर, सरकारले अहिलेसम्म निकासा गरिदिएन,’ पन्थीले भने । कम्पनीहरूले कोषमा जम्मा गर्नुपर्ने रकम महीना पूरा भएको १५ दिनभित्र जम्मा नगरे सरकारले दिने सुविधा खोस्छ तर सरकारले भने श्रमिकको डेढ अर्ब समयमै निकासा नगरी बैंकमा राखेर ब्याज खाने काम गरेको छ । यसले सरकारको नियतमाथि नै प्रश्न उठेको छ ।

बन्दाबन्दीका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भई निजीक्षेत्र मारमा परेको बेला कोभिड शुरू हुने वर्ष सरकारले राहतस्वरूप बन्दाबन्दी अवधिभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान आफैले बेहोर्ने घोषणा गरेको थियो ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको